प्रतिनिधि सभाको बैठक आइतबारसम्म स्थगित

प्रतिनिधि सभाको बैठक आगामी आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो सवा १ बजे बस्ने जनाइएको थियो ।
सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरे पनि सहमति नजुटेपछि बैठक नबसी स्थगित गरिएको हो । अस्तिदेखि अवरुद्ध बैठक आज पनि सूचना टाँसेर पर्सिसम्म स्थगित गरिएको छ ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंगलाई बर्खास्त गरेपछि माओवादीलगायत विपक्षी दलहरुले संसद बैठक अवरुद्ध पारेका हुन् । त्यसबारेमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माओवादीको माग छ भने प्रधानमन्त्री केपी शर्मा ओली र एमाले जवाफ नदिने अडानमा देखिन्छन् ।
यता आफ्नो बर्खास्तीबारे अन्तरिम आदेश माग्दै सर्वोच्च पुगेका कुलमानलाई पर्सि आइतबारका लागि अर्को तारिख दिइएको छ । प्राधिकरणका नयाँ प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको मुद्दासँगै जोडेर सुनुवाई गर्न न्यायायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासको आदेश छ।
टिप्पणीहरू