पूर्वराजालाई दल खोलेर राजनीतिमा आउन चुनौती

समाजवादी मोर्चाको जनसभा शुरु भएको छ । शीर्ष नेताहरु उपस्थित भएसँगै राजधानीको भृकुटीमण्डपमा आयोजित जनसभा अघि बढाइएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले कार्यक्रमलाई सम्बोधन गर्दै व्यवस्था बचाउनका निम्ति नेपाली जनताले गरेको संघर्ष जारी नै रहेको बताए ।
पटकपटकको आन्दोलनबाट जनताले २४० वर्षको सामान्ती शासन व्यवस्था अन्त्य गरेको र गणतन्त्र नेपालको सञ्चालक बनेको उनको भनाइ छ । पूर्वराजा ज्ञानेन्द्र शाहले सत्तामा फर्किन पुनः कुचेष्टा गरिरहेको उल्लेख गर्दै उनले त्यसको प्रतिवाद गर्न आह्वान गरेका छन् ।
नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्पा भुसालले नेकपा एमाले र नेपाली काँग्रेसको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाइन् । उनीहरुको सो गतिविधिका कारण जनता आक्रोशित बनेकाले मुलुकमा पूर्वपञ्चहरु सल्बलाउन थालेको भुसालको जिकिर छ । त्यसैगरी, उनले दल खोलेर वा राप्रपाको अध्यक्ष बनेर पूर्वराजा शाहलाई राजनीतिमा आउन चुनौती दिइन्।
टिप्पणीहरू