सदनमा जवाफ दिन प्रधानमन्त्री तयार

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान कारवाही प्रकरणमा विपक्षीको माग बमोजिम सदनमा जवाफ दिनुहुने भएको छ ।
सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रमुख दलबीच आज सहमति जुटेको हो । सभमुख देवराज घिमिरेसहित प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्तापक्षीय दलका प्रमुख सचेतकहरुबीच आज सदनको अवरोध खुलाउनेबारे छलफल भएको थियो ।
सोमवार बसेको क्याविनेट बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बदर्खास्त गरेको थियो । बर्खास्तीसँगै प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहित विपक्षी दलले संसद अवरुद्ध पारेका छन् । यस विषयमा प्रधानमन्त्री ओलीले चित्तबुझ्दो जवाफ दिएमात्र अवरोध हटाउने उनीहरुको बटमलाइन छ ।
सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव राखेको थियो । तर, प्रतिपक्षले भने प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान लिँदै आएका छन् ।
आजको बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा १८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आइतबार बस्ने बैठक सहज रुपमा अघि बढ्ने सहमति भएको बताए । प्रतिपक्षी दलहरुको माग बमोजिम नै यस्तो सहमति गरिएको भएपनि आज बैठक बस्न उनीहरुले आनाकानी गरेको उनले गुनासो गरे ।
टिप्पणीहरू