आमसभा खुल्लामञ्चमा कि सडकमा ?

खुल्ला ठाउँमा ताल्चा, मानव बस्तीमा तहल्का ! प्रसंग हो हिँजाे राजधानीमा भएको आगजनी र लुटपाटको । मुलुक बचाउने र व्यवस्था परिवर्तन गर्ने भन्दै आन्दोलनमा होमिएको समूहले हिजो काठमाडौंमा शक्ति प्रदर्शन गर्यो । गणतन्त्रवादीहरुको आन्दोलन सभ्य रुपमा सञ्चालन हुँदा राजावादी समूह उग्र बन्यो । बिहान ११ बजेदेखि शुरु भएको आन्दोलनले दिउँसोबाट एकाएक हिंसाको रुप लियो ।
राजतन्त्र फर्काउन भन्दै गरिएको आन्दोलन अपराधमा परिणत भयो । राजावादी आन्दोलनका ‘कमाण्डर’ दुर्गा प्रसाईंले आफैंले गाडी हाँकेर निषेधित क्षेत्र तोडे । उनले प्रहरीमाथिबाटै गाडी हुइँकाउने प्रयास गरेको भिडियोमा देखिन्छ । प्रहरीलाई तथानाम गाली गर्दै उनले निषेधित क्षेत्र तोडेपछि प्रदर्शनकारीहरु उक्सिए र अराजक क्रियाकलापमा संलग्न भएको घटनाक्रमले देखाउँछ ।
उनीहरुले प्रहरीमाथि ढुंगा बर्साउन शुरु गरे । तीनकुने सडक किनारमा रहेको तीनवटा निजी घर पूर्ण रुपमा ध्वस्त भए । प्रदर्शनकारीहरुले नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय, कान्तिपुर र अन्नपूर्ण मिडियाको कार्यालयमा पनि तोडफोड गरेका छन् । अन्नपूर्णको कार्यालयमा आगो झोसिएको छ । अर्का एक जनाको घरमा पनि आगजनी गरियो ।
आगो निभाउन पुगेको काठमाडौं महानगरपालिकाको दमकलको अगाडिको भाग क्षतिग्रस्त भएको छ । घरभित्रको सामान सडकमा निकालेर आगो लगाइयो । शान्तिसुरक्षाका लागि खटिएकी महिला सशस्त्र प्रहरीको टाउको फुटाइएको छ । प्रहरीहरुलाई लखेटेर कुटेपछि हतियार खोसियो । प्रहरीले अश्रुग्याँससँगै पानीको फोहोरा र गोली प्रहार गर्दासमेत राजावादीहरु ‘टसमस’ भएनन् ।
उल्टै प्रहरीमाथि नै जाइलागे । उता, पेरिसडाँडामा एउटा सरकारी गाडीमा आगो लगाइयो । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरिएको छ । स्थानीय प्रशासनको कमजोरीका कारण धेरै क्षति भएको धेरैको बुझाइ छ । घना मानव बस्ती भएको स्थान र सडकमा आन्दोलन गर्न दिने स्थानीय प्रशासनको निर्णय नै गलत भएको उनीहरुको ठहर छ ।
‘आमसभा, आन्दोलन मानव बस्तीको बीचमा गर्न दिने कि खुल्ला ठाउँमा ? आज धेरै क्षति हुनुमा स्थानीय प्रशासनको ठूलो कमजोरी छ । तीनकुने बाक्लो मानव बस्ती भएको ठाउँ हो । आन्दोलनकारीले घरमा आगजनी गरे । भीडले जे पनि गर्न सक्छ भन्नेतर्फ स्थानीय प्रशासनले ख्याल गरेको पाइएन्’, एक नागरिक अगुवाले भने ।
आन्दोलन र आमसभा गर्न काठमाडौं उपत्यकामा थुप्रै खुल्ला ठाउँ छन् । टुँडिखेल र खुल्लामञ्च ताला लगाएर राखिएको छ । खुल्ला ठाउँमा तालाबन्दी गरेर मानव बस्तीमा प्रदर्शन गर्न अनुमति दिँदै आएको छ । राजनीतिक दल र अन्य समूहरुले पनि त्यस्तै ठाउँ खोज्दै आएका छन् ।
राजावादी समूहलाई तीनकुने र गणतन्त्रवादीलाई भृकुटीमण्डपमा आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले त्रिपक्षीय समझदारीमा आन्दोलनस्थल तोकिएको जानकारी दिए । आजको घटना अनपेक्षित भएको उनी बताउँछन् ।
जनआस्थासँग कुराकानीको क्रममा उनले भने,‘एकै ठाउँमा आन्दोलन गर्दा झडप हुने भएपछि हामीले बेग्लाबेग्लै ठाउँमा आन्दोलन गर्न भनेका थियौं । त्रिपक्षीय सम्झौताअनुसार नै सो स्थानमा आन्दोलन गर्न दिएका हौं । तर, आजको आन्दोलनले हामी सबैलाई झस्काएको छ । यतिसम्म अराजक होला भन्ने सोचेका पनि थिएनौं ।’
भण्डारीले हिँजाेको घटनाले पाठ सिकाएको बताए । तोडफोड गर्ने, आगजनी गर्नेमाथि कारबाहीको तयारी भइरहेको उनले जानकारी दिए । ‘हिँजाेको घटना अकल्पनीय थियो । आन्दोलनमा तोडफोड, आगजनी होला भनेर हामीले सोचेका पनि थिएनौं । नेपालको इतिहासमा यतिसम्मको अराजक र उग्र घटना पहिलोपल्ट भएको होला । हामीले यो घटनाबाट पाठ सिकौं’,उनले भने ।
यता, काठमाडौं महानगरपालिकाले भने खुल्लामञ्चमा भर्खरै दुबो रोपिएकाले बन्द गरिएको बताए । दुबो हुर्किसकेपछि मात्र त्यहाँ हिँड्डुल गर्न मिल्ने महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेको भनाइ छ । काठमाडौंमा अहिले कतैपनि आन्दोलन गर्न खुल्ला ठाउँ नभएको उनी स्वीकार्छन् । ‘काठमाडौंमा अहिले खाली ठाउँ नै छैन । खुल्लामञ्चमा महानगरले दुबो रोपेको छ । त्यहाँ हिँड्नै मिल्दैन्, दुबो पकपक निस्किन्छ’,उनले भने ।
टिप्पणीहरू