देउवा फर्केपछि हिजोको अराजकताबारे समीक्षा गर्दै काँग्रेस, राप्रपा ३ बजे जुट्दै

राजावादीहरुले हिजो राजधानीको तीनकुने, कोटेश्वर, सिनामंगल क्षेत्रमा मच्चाएको वितण्डाबारे नेपाली काँग्रेसले समीक्षा गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा साढे ४ बजे राजधानीमा उपलब्ध पदाधिकारी, पूर्व पदाधिकारीहरुसहितको बैठकमा हिजोको अराजकताबारे समीक्षा गरिने बताइएको छ ।
तर, सभापति देउवा बिहान सवा १० बजे काठमाडौंबाट भैरहवा जानुभएको छ । उहाँ बुद्ध एअरको उडानमा पूर्वमन्त्री डा. प्रकाशशरण महतसहित १० सदस्यीय टोली लिएर त्यता जानुभएको हो । उताबाट फर्केपछि काँग्रेसले राजावादीहरुको अराजक आन्दोलनको समीक्षा गर्न लागेको हो ।
यता राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखिएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय, धुम्बाराहीमा वर्तमान परिस्थितिको समीक्षा र पार्टीको धारणा तय गर्न लागिएको जानकारी दिइएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र नेता धवल शमशेर राणा प्रहरी हिरासतमा छन् । पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनीलगायत नेताले आज बिहान उनीहरुसँग भेट गरेका छन् ।
हिजोको भीड उत्तेजक हुनुअघि राप्रपाका नेता मिश्रले यसअघिका आन्दोलनमा नेताहरूको नियन्त्रण नभएको जनाउँदै आज पनि त्यस्तै हुने बताएका थिए । सँगै रहेका धवल शमशेरले सुरक्षा घेरा तोड्न र आक्रामक बन्न प्रदर्शनकारीहरूलाई उक्साएका थिए ।
आन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाईंले हाइलक्स–पिकअप गाडी जथाभावी हाँक्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुलाई किच्ने उद्देश्यले घेरा तोडेका थिए ।
टिप्पणीहरू