नेपाल प्रहरीमा सरुवा मापदण्ड संशोधनको तयारी

नेपाल प्रहरीमा सरुवा मापदण्ड संशोधनको तयारी

‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९ (प्रथम संशोधनसहित)’ लाई थप प्रभावकारी बनाउन दोस्रोपटक संशोधन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयले मापदण्डलाई व्यवस्थित र प्रभावकारी बनाउन थप्नुपर्ने वा परिमार्जन गर्नुपर्ने प्रावधानहरुमाथि रायसुझाव मागेको छ । 

मानवस्रोत विकास विभागको कर्मचारी प्रशासन शाखाले सबै विभाग, निर्देशनालय, ब्यूरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, प्रहरी प्रदेश कार्यालयलाई पठाएको पत्रमा वरिष्ठ प्रहरी अधिकृतदेखि कार्यालय सहयोगीसम्मको राय लिएर सुझाव पठाउन आग्रह गरिएको छ । 

‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९ (प्रथम संशोधनसहित) लाई परिमार्जन तथा संशोधन गरी थप प्रभावकारी बनाउनको लागि के कस्ता प्रावधानहरु थप गर्न उपयुक्त हुन्छ , विद्यमान सरुवा मापदण्डमा उल्लेख भएका कुनकुन बुँदाहरु संशोधन गर्दा प्रहरी कर्मचारीहरुको सरुवा प्रणाली अझ व्यवस्थित र विश्वासनीय हुन्छ ? सो विषयमा त्यहाँ कार्यालय प्रमुखहरु स्वयंले दिलचस्वी लिई उक्त मापदण्ड अध्ययन समेत गरी आ–आफ्ना सम्पूर्ण मातहत कार्यालयहरुमा कार्यरत सिनियर प्रहरी अधिकृतदेखि प्रहरी कार्यालय सहयोगी समेतबाट राय सुझाव संकलन गर्न...’,पत्रमा उल्लेख छ । 

मुख्यालयले परिच्छेद १ मा रहेको सरुवासम्बन्धी साझा मापदण्डको विषय, परिच्छेद २ को प्रहरी कर्मचारीको दर्जागत सरुवा मापदण्ड, परिच्छेद ३ को विशिष्टिकृत सेवा क्षेत्र वा विशेष समूहमा गरिने सरुवासम्बन्धी मापदण्ड, परिच्छेद ४ को सरुवा समय तालिका, परिच्छेद ५ को काजसम्बन्धी व्यवस्था, परिच्छेद ६ को विविध, प्रहरी नायव महानिरीक्षकदेखि प्रहरी निरीक्षक दर्जामा कार्यालय प्रमुख हुने श्रेणीगत दरबन्दी वर्गीकरणलगायतका प्रावधानमा राय मागेको छ । 

रायसुझाव इमेलमार्फत पठाउन भनिएको छ ।

टिप्पणीहरू