मध्यराती गाईगोरुको लश्कर भारततिर

धनुषाबाट नेपाली गाईगोरु भारततर्फ तस्करी हुँदै आएको छ । मध्यरात हुने तस्करीमा बालबालिकाको प्रयोग हुने गरेको पाइएको छ । हिजोराति १२ बजे औरही गाउँपालिकाको इटर्वा नाकामा गरिएको स्थलगत रिपोर्टिङ्गका क्रममा गाईगोरु धपाउँदै बालबालिका भारततर्फ गएको र उताबाट मोटरसाइकलमा राखेर कपडा ल्याउँदा सुरक्षाकर्मीहरुको उपस्थिति शून्य देखिएको छ ।
मोहम्मद नासिर उर्फ तमन्ना नामक तस्करको धन्दामा सुरक्षा निकाय नै सहयोगी बनेको स्थानीयको भनाइ छ । गएराति ३० वटा गाईगोरु उता लगिएको थियोे । खेत र जंगलको बाटो हुँदै बालबालिकाले १७ किलोमीटर टाढा पुर्याएवापत जनही एक हजार रुपैयाँ पाइने बताए ।
यताबाट गाईगोरुसँगै लसुन पनि भारततर्फ अवैध रुपमा लैजाने गरिएको पाइएको छ । हरेक दिन साढे ११ बजेपछि उक्त धन्दा नियमित रुपमा हुने गरेको उनीहरुले बताए ।
यता जिल्ला प्रहरी कार्यालयले भने धनुषाबाट भारततर्फ र उताबाट नेपालतिर तस्करी नभएको दाबी गरेको छ । दिउँसो कुनै धन्दा नभए पनि रात परेपछि सेटिङमा तस्करी हुने गरेको बारे राखिएको जिज्ञासामा प्रहरीले आरोपमा सत्यता नरहेको बतायो । तर, भिडियोमा मध्यराति भइरहेको तस्करी देख्न सकिन्छ ।
-जय कुँवर
टिप्पणीहरू