वरिष्ठ पत्रकार कमल कोइराला दिवङ्गत

वरिष्ठ पत्रकार कमल कोइराला दिवङ्गत

वरिष्ठ पत्रकार,वरिष्ठ अधिवक्ता,पूर्व साँसद तथा राजदूत कमल कोइरालाको आज राती काठमाण्डौ सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको छ ।

गत मङ्गलवार बानेश्वर,थापागाउँस्थित निजी निवासमा लडेर पक्षघातको सिकार हुनुभएका ८७ बर्षीय कोइरालालाई भोलिपल्ट बिहानै अस्पताल लगेर घाँटीको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यलाभकै क्रममा आज बेलुका उहाँले अमेरिकाबाट आएका छोरा डा.कन्चन र छोरी रिचासङ्ग बोलचाल गर्दागर्दै सघन उपचार कक्षमा अन्तिम सास फेर्नुभएको हो । यसअघि गत शुक्रवार छोरा भेट्न अमेरिका जाने गरी २८ दिनको तयारीमा हुनुहुन्थ्यो । 

दिवङ्गत प्रधानमन्त्री तथा अमेरिकाका निम्ति राजदूत मातृकाप्रसाद कोइरालाका छोरा तथा त्यसपछि निर्वाचित सरकारका प्रधानमन्त्रीद्वय बिपी र जिपी कोइरालाका भतिजा उहाँ उक्त कोइराला परिवारको एक्लो कम्युनिस्ट हुनुहुन्थ्यो । ०५१ को मध्यावधि चुनाव मोरङ्गबाट जितेर सँसदको राज्यव्यवस्था समिति सभापतिसहित दक्षिण कोरियाका निम्ति राजदूत रहनुभएका कोइरालाले बनारस विश्वविद्यालयबाट बिए र गोरखपुर विश्वविद्यालयबाट एलएलबीसम्मको शिक्षा हासिल गर्नुभयो । 

सिध्दहस्त लेखक र स्तम्भकारका रुपमा चिनिनुहुने कमल कोइरालाको भोलि बिहान ११ बजे नेकपा एसको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा अन्तिम बिदाइ तथा पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने छोरा डा.कन्चन कोइरालाले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू