अरुलाई बिदा,प्रहरीलाई स्ट्याण्डबाइ

इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले अघिल्लो वर्ष नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
तर, नेपाल प्रहरीको हकमा भने सार्वजनिक र निजी बिदामा रोक लगाइएको छ । शुक्रबार तीनकुनेमा राजावादीहरुले मच्चाएको ताण्डवपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै प्रहरी संगठनमा बिदा कटौती गरिएको बताइन्छ । स्रोतका अनुसार आन्दोलन मत्थर नभएसम्म सबै खालका बिदामा रोक लगाइएको छ ।
आज इस्लाम धर्मावलम्बीहरुले सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्वमा प्रार्थना,भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरिन्छ ।
आफूभन्दा सानालाई आशीर्वादसँगै आफन्तलाई सेवई,खजुरलगायत मीठा खानेकुरा खुवाइन्छ । खुशीपूर्वक दीनदुःखीलाई गच्छेअनुसारको दान गरिन्छ । पछिल्लो एक महिना रमजानमा सूर्योदयदेखि सूर्यास्तसम्म ब्रत बसेर आज खुशीयाली साटिन्छ ।
टिप्पणीहरू