प्रधानमन्त्रीले मोर्चाको प्रशंसा गर्दा विपक्षी खेमा मुसुमुसु

सामान्यत: फरक बिचार समूह र प्रतिस्पर्धी शक्तिप्रति आक्रमक सुनिने प्रधानमन्त्री केपी शर्मा ओली आज फरक रुपमा प्रस्तुत हुनुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा उहाँले आफ्नो स्वभाव विपरित चार दलीय समाजवादी मोर्चाको प्रशंसा गर्नुभएको हो । उहाँको यस्तो अवतार देखेर विपक्षी दलका सांसदहरु समेत मुखामुख गरेर हाँसेको देखियो ।
चैत १५ गते काठमाडौँमा आयोजना भएका दुइवटा विरोध प्रदर्शनका कार्यक्रमलाई तुलना गर्दै प्रधानमन्त्रीको त्यस्तो धारणा प्रकट भएको हो । सम्बोधनका क्रममा उहाँले मोर्चाको कार्यक्रम निकै शालिन र भव्य हुँदा राजावादी कार्यक्रम भने हिंसात्मक भएको बताउनुभयो ।
‘यही सदनको प्रतिपक्षी दलहरू आवद्ध रहेको समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा भव्य सभा गर्यो, आफ्नो धारण सार्वजनिक गर्यो, सरकारलाई खबरदारी गर्यो, संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो’, प्रधानमन्त्रीले भन्नुभयो,‘शालिन जुलुससहित भव्य कार्यक्रम गरेकोमा आयोजकलाई धेरै धन्यवाद । लोकतन्त्रलाई सुदृढीकरण गर्ने राम्रो विधि यही हो, यसको म प्रशंसा गर्छु ।’
उता, तीनकुनेमा भने राजावादीहरुले हिंसात्मक र अक्षम्य गतिविधि देखाएको भन्दै उहाँ केही आक्रमकरुपमा प्रस्तुत हुनुभयो । ‘त्यो कार्याक्रमको आयोजक नै को हो भन्नेमा केही आशंका र दुविधा पहिल्यै थियो । किनकि आयोजकमध्येका केही नाम यही सदनमा उपस्थित हुनुभएका माननीयहरुको पनि थियो ।'
आयोजकले उत्तेजित प्रदर्शन र अराजक भीडसहित कार्यक्रम गरेकोमा असन्तुष्ट सुनिनुभएका उहाँले अगाडि भन्नुभयो, 'त्यहाँ सभा तथा मन्तव्य हैन, प्रदर्शनको कथित जनकमाण्डार आफै प्रहरीमाथि नै गाडी चलाउँदै निषेधित क्षेत्र तोड्न पुगे । प्रहरीमाथि आक्रमण गर्ने, हुँदा हुँदा नीजि घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधी कारखानामा लुटपाट र आगजनी गरियो । मानिसलाई भित्रै थुनेर जलाउने हर्कत गरियो ।’
प्रधानमन्त्री ओलीले उक्त घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धतासमेत जनाउनुभएकाे छ । ‘यी निन्दनीय र खेदजनक कार्य हुन् । घटनामा जो कोहीलाई कारवाही हुन्छ । जो सुकै हुन्, छानविन सुरु भइसकेको छ । यसको योजनाकार को हो हुन्, विस्तृत अनुसन्धान सकिएपछि यही सदनमा गृहमन्त्रीले जानकारी गराइहाल्नुहुन्छ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले कुलमान प्रकरणमा भने खासै प्रतिक्रिया दिनुभएन । प्रतिपक्षी दलहरुले केही दिनयता कुलमानको विषयमा जवाफ माग गर्दै संसद अवरोध गदै आए पनि उहाँले सर्वोच्चमा विचाराधीन विषयमा धेरै बोल्न नहुने टिप्पणी गर्नुभयो ।
सानो कुरामा धेरै नअल्झिन प्रतिपक्षीलाई आग्रग गर्दै सुनाउनुभयो, ‘एउटा कर्मचारी र विभागीय मन्त्रीले एकअर्काप्रति लोयल्टी फिल गरेन भने सरुवा, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत चेतावनी दिने वा पदमुक्त गर्न मिल्छ । यो अहिलेको सरकारले मात्रै होइन, जहिलेको सरकारले पनि गर्छ । अहिले भयो, जहिले पनि हुन्छ । असन्तुष्ट पक्षले कानुनी उपचार खोज्ने अधिकार राख्छ, र अहिले यो विषय सर्वोच्च पुगिसकेको छ, त्यसकारण यसमा धेरै नबोलौँ ।’
टिप्पणीहरू