थाईल्याण्डमा प्रधानमन्त्रीको सामुन्ने व्यावसायिक समझदारी

थाईल्याण्डमा प्रधानमन्त्रीको सामुन्ने व्यावसायिक समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्याण्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका निम्ति समझदारी भएको छ । 

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा आज बैंककमा भएको समझदारी पत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बरका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरेका हुन् । 

उक्त समझदारीले नेपाल र थाईल्याण्डबीच व्यापारिक सम्बन्ध सुदृढ बनाउँदै आर्थिक सहकार्य प्रवर्द्धन तथा व्यापार र लगानी विस्तारका लागि संरचित रुपरेखा तयार गर्ने लक्ष्य राखेको महासंघले जनाएको छ । 

‘दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ,’ महासंघले भनेको छ, ‘द्धिपक्षीय समझदारीअन्तर्गत दुवै पक्षले व्यापार प्रवर्द्धन, संयुक्त उद्यमको सुविधा, व्यापारिक जानकारी आदानप्रदान र औद्योगिक सहकार्यलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।’

समझदारी पत्रमा व्यापार मेला, व्यवसायिक फोरम र विशेष आर्थिक कार्यक्रमहरुमा सहभागी प्रोत्साहन, विवाद समाधान प्रणाली प्रवर्द्धन र प्राविधिक विशेषज्ञता तथा तालिम आदानप्रदानलाई सशक्त बनाउने विषय समावेश गरिएको महासंघको भनाइ छ । 

महासंघका अनुसार यो समझदारी पत्र तीन वर्षसम्म लागू हुनेछ । नेपाली र थाई व्यवसायीबीच निरन्तर सहकार्यका निम्ति यसले मजबुत आधारको रुपमा काम गर्ने विश्वास व्यक्त गर्दै महासंघले थाई चेम्बरसँग मिलेर सम्झौताका लक्ष्य सफलतापूर्वक कार्यान्वयन गर्न तथा आपसी सहकार्यका नयाँ सम्भावना खोज्न तत्पर रहेको पनि बताएको छ ।

टिप्पणीहरू