गर्मी लागेसँगै सर्पको बिगबिगी, दीपकलाई उद्धार गरेरै भ्याइनभ्याइ

मुलुकभर गर्मी चढ्दै गएको छ । तराई भेगमा गर्मी खपिनसक्नुको अवस्थामा पुगेको छ । गर्मी लागेसँगै सर्पहरु आफ्नो दुलोबाट बाहिर निस्किन थालेका छन् । बारा, पर्सा, रौतहट, सर्लाहीतिर सर्पको बिगबिगी छ । घरभित्रै सर्प पस्न थालेको छ । तराईमा मान्छे र सर्पबीच द्धन्द्ध व्याप्त छ । सर्पको डसाईँबाट वर्षेनि दर्जनौंको ज्यान जाने गरेको छ ।
त्यसको न्यूनिकरणका लागि जुटेका छन्, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ का दीपक नेपाल । सर्पका उद्धारकर्ता उनी विगत एक वर्षदेखि सक्रिय रुपमा यस कार्यमा संलग्न छन् । ठेक्कापट्टाको काम गर्दै आएका उनलाई हाल सर्प उद्धार गरेर भ्याइनभ्याइ छ । ‘मैले सर्पको उद्धार गर्न थालेको लामो समय भयो । तर, एक वर्षदेखि सक्रिय रुपमा यहीँ काम मात्र गरिरहेको छु । काममा हुन्थें, टाढाटाढाबाट फोन आउँथ्यो । काम छोडेर हिँडिरहन मलाई गाह्रो पर्यो । त्यसैले पेशा व्यवसाय छोडेर यसैमा लागे’,उनले भने ।
उनी सर्पको उद्धारका लागि विभिन्न जिल्ला पुग्छन् । एकैदिन १७ वटासम्म सर्प समातेको रेकर्ड भएको उद्धारकर्ता नेपालले बताए । उनका अनुसार अहिले भाले–पोथी लाग्ने समय भएकाले सर्प छ्याप्छ्याप्ती बाहिर निस्किने गरेका छन् । अन्यले उद्धारकर्ताले लौंरोले सर्प समात्ने गरेपनि उनले भने हातैले समात्छन् । भन्छन्,‘धेरै उद्धारकर्ताले लौंरो, अन्य उपकरणले सर्प समात्नुहुन्छ । मचाँहि हातैले समात्छु । हातले सर्प समात्ने उद्धारकर्ता मुलुकमा थोरै मात्र छन् ।’
सर्प समात्नका लागि शुल्क नलाग्ने उनले जानकारी दिए । उनी गाडी चढेरै सर्पको उद्धार गर्नका निम्ति विभिन्न जिल्ला पुग्ने गरेका छन् । गाडीमा टाढा–टाढा पुग्न समस्या भइरहेकाले मोटरसाइकल किन्ने योजनामा रहेको नेपाल बताउँछन् ।
उनले अगाडि थपे,‘मेरो उद्देश्य मान्छेको ज्यान बचाउनु हो । सर्पले टोकेर धेरैको ज्यान गएको देखेको छु । सर्पको उद्धार गर्नका लागि कुनै शुल्क लाग्दैन् । कसैले भने टाढाबाट आएको भनेर गाडी भाडा दिनुहुन्छ । सर्प हेर्न आउनेले केही सहयोग गर्नुहुन्छ । तर, मचाँहि पैसा माग्दिन् । मैले फेसबुकमै शुल्क लाग्दैन् भनेर लेखेको छु । केही समयपछि मोटरसाइकल किन्ने तयारीमा छु । गाडीमा टाढा–टाढा पुग्नै समय लाग्छ ।’
टिप्पणीहरू