युवाहरू अनि किन देशमा बस्छन् ?

युवाहरू अनि किन देशमा बस्छन् ?

प्रधानमन्त्रीको भ्रष्टाचार हुन दिन्न भन्ने भनाइलाई मन्त्रझैँ बनाइएकै बेला कम्पनी रजिष्ट्रार कार्यालयमा दैनिक हुने अनियमितता जिब्रो टोक्ने खालको रहेको छ । सेवाग्राही आफैं नजाने र कानुन व्यवसायी तथा बिचौलियामार्फत काम हुने यस कार्यालयमा सामान्य कामका लागि पनि हजार घुस नलिई फाइल नसर्ने अवस्था छ । सबै प्रकारका कम्पनीको दर्ता, नामसारी, ठाउँसारी, लगत दर्ता, अद्यावधिकलगायत कामका लागि प्रतिनिधिका रूपमा प्रायः कानुन व्यवसायी त्यहाँ पुग्ने गर्छन् । पब्लिक लिमिटेड कम्पनीका सामान्य अद्यावधिकको कामका लागि समेत कर्मचारीले १५ हजारभन्दा कममा फाइल छुनै नमान्ने गरेका गुनासा छन् । ठूला कर्पोरेट हाउस र कम्पनीको रूपमा रहेका पब्लिक लिमिटेडका काम आउनासाथ कर्मचारीको मागको ग्राफ अकल्पनीय रूपमा बढ्ने गरेको छ ।

एक करोडको शेयर लगत निकाल्दा कम्तीमा पनि ५० हजार घुसस्वरूप बुझाइएन भने कामै नहुने अर्का व्यवसायीले बताए । एक कानुन व्यवसायी सयौंको संख्यामा आउने हरेक कामबाट कर्मचारीले उठाउने रकम दैनिक लाखौं हुने बताउँछन् । पैसा उठाइने मुख्य फाँटको रूपमा रहेको पब्लिक लिमिटेडमा सुब्बा सुमन भट्टराई, योगेन्द्रविक्रम शाह र सहायक रजिष्ट्रारहरू भीमप्रसाद पराजुली, रविन कार्की छन् । यो रकम उपरजिष्ट्रारसमेत संलग्न भई रजिष्ट्रारसम्म पुग्ने गरेको छ । लाखमा हुने घुसको कारोबार भने कर्मचारी आफैंले नगरी उनीहरूले खटाएका बिचौलियामार्फत लेनदेन हुने गरेको छ ।

टिप्पणीहरू