रेडियो नेपाललाई सरकारको ताबेदारी नगर्न मन्त्रीको सल्लाह
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारण संस्थामा रुपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताउनुभएको छ ।
रेडियो नेपालको ७५ औं वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । त्यसक्रममा मन्त्री गुरुङले देश र जनताप्रति उत्तरदायी बनेर काम गर्न सरकारी सञ्चार माध्यम रेडियो नेपाललाई सुझावसमेत दिनुभयो ।
'सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले कुनै सरकारको, कुनै नेताको, कुनै मन्त्रीको मात्रै ताबेदारी कदापी गर्नुहुन्न', मन्त्रीले भन्नुभयो, 'रेडियो नेपालले आफ्नो स्वायत्त भएर आफ्नो नीति कार्यक्रमहरु अगाडि सारेर अगाडि लाग्नुपर्ने छ ।’
लोकतन्त्र र गणतन्त्रको सारथी भएर जनता र देशको हितमा काम गर्ने स्वायत्त संस्थाका रुपमा आफ्नो पहिचान कायम गरिराख्न उहाँले सल्लाह दिनुभयो । इतिहासमा सत्ताको पञ्जाभित्र परेर अधिनायकवादीको गुणगान गाउने प्रवृत्ति केही हदसम्म परिवर्तन भएको मन्त्री गुरुङको भनाई छ ।
‘देश र जनताप्रति उत्तरदायी बनेर काम गर्ने लक्ष्य रेडियो नेपालको छ । देश र जनताको समृद्धि सुखको लागि अधिनायकवादी हुनु हुँदैन । लोकतन्त्र फस्टिनुपर्छ । गणतन्त्रले आफ्नो प्रभावकारीता सन्देश दिन सक्नुपर्छ', उहाँले भन्नुभयो, 'अब लोकतन्त्र, गणतन्त्रको सारथी भएर देश र जनताको हितको लागि रेडियो नेपाल स्वायत्त छ ।'
बदलिँदो राजनीतिक परिस्थितमा नेपालको समृद्धि र जनताको सूचनाको हक प्रत्याभूत गर्ने कुरामा रेडियो नेपाल अगाडि बढ्नुपर्नेमा उहाँको विशेष जोड पनि रह्यो ।
टिप्पणीहरू