मन्त्रीको गोप्य भिडियोले सरकार तरंगित

मन्त्रीको गोप्य भिडियोले सरकार तरंगित

राजीनामा दिएका प्रादेशिक उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको अडियो काण्डले सुदूरपश्चिममा नयाँ तरंग ल्याएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनमा चौधरीले राजीनामा दिए पनि अडियोका बाछिटा परराष्टमन्त्री आरजु देउवादेखि मुख्यमन्त्री शाह र एमालेका पोलिटब्युरो सदस्य नारदमुनी रानासम्म पुगेका छन् । चौधरीले अडियोमा आफ्नो पार्टीका रेशम र रञ्जितासम्मलाई मिलाउन सक्ने र वनका कर्मचारी सरुवा गर्दा मुख्यमन्त्रीलाई समेत घुस दिएको अडियोमा सुनिन्छ । जसमा एमाले नेता राना समेत घुस लिने छलफलमा सहभागी रहेको प्रष्ट सुनिन्छ । रानाले एमाले आफूले मिलाउने मात्र बताएका छैनन् शुक्रबार कार्यविधि बनाउने कार्यदल बनाउनु, शनिबार बैठक बसाएर पास गर्नु भनेका छन् ।

ना यत्तिकैमा रोकिँदैनन् उनले तपाईं र म लड्नुपर्छ, जित्नुपर्छ त्यसैले पैसा कमाउनुपर्छ भन्ने आशय राजीनामा दिएका मन्त्री चौधरीसंग व्यक्त गरेको अडियोमा भेटिन्छ ।

कार्यविधि बनाउँदा ३० लाखसम्म ठेकेदारबाट घुस लिएर बाँडफाँड गर्ने कुरा अडियोमा सुनिए पनि पहिलो वैज्ञानिक वन र अहिले दिगो वन व्यवस्थापन भनिएको नयाँ नीतिबाट रूख हुर्काउन र पुराना काट्दा हरेक वर्ष वार्षिक खर्बको कारोबार हुने देखिन्छ । राजीनामा दिएका चौधरी, एमाले नेता राना लगायतले ती रुख काट्ने काम आफ्ना मान्छेलाई दिएर असुल गर्न खोेजेको अडियो सार्वजनिक गर्ने असन्तुष्ट पक्षको भनाइ छ । कैलाली र कञ्चनपुरमा १०० हाराहारीमा ठूला सामुदायिक वनलाई दिगो वन व्यवस्थापनमा लैजाने तयारी छ । अडियो सार्वजनिक भएर चौधरीको मन्त्री पद गएपछि मुख्यमन्त्री समेतको राजीनामा माग्दै प्रतिपक्षहरूले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।

यही बीचमा अडियो सार्वजनिक हुनुमा आफ्नै दल कांग्रेसका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर देउवाको हात रहेको मुख्यमन्त्री शाहले आरोप लगाउन थालेका छन् । मुख्यमन्त्री शाह र देउवा पहिलो १४ महिने मुख्यमन्त्री कार्यकालमा एउटै सरकारमा थिए । दोस्रो पटक वाम गठवन्धन भत्केर कांग्रेस, एमाले मिल्दा शाहले देउवालाई साथ दिने बताइएको थियो । तर शाहले नछोडेपछि अहिले आउने आफू विरुद्धका समाचारमा मुख्यमन्त्री शाहले देउवाले लेखाएको भन्ने गरेका छन् ।

एमाले नेता नारद पनि छलफलमा भएको चर्चा चलेपछि अहिले एमालेभित्र उनको पनि जिम्मेवारी खोस्नुपर्ने चर्चा चलेको छ । धनगढीको अनुमोदन खवर डटकम र अनुमोदन दैनिकलगायतले सार्वजनिक गरेको अडियोमा एमाले नेता रानाको संलग्नता सार्वजनिक हुनुलाई भने आश्चर्यका रूपमा लिइएको छ । बैठकमा रुख काट्न संलग्न गराउनुपर्ने ठेकेदार पनि रहेको अडियोमा सुनिन्छ तर उनको परिचय खुल्न सकेको छैन ।

टिप्पणीहरू