आफ्नै मन्त्रीसँग काँग्रेसको आक्रोश, प्रतिपक्ष झन् क्रुद्ध

आफ्नै मन्त्रीसँग काँग्रेसको आक्रोश, प्रतिपक्ष झन् क्रुद्ध

दुई जनाको ज्यान जानेगरी भएको तीनकुने घटनामा सत्तारुढ दल नेपाली काँग्रेसले सरकारको धारणा मागेको छ । 

सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काँग्रेस सांसदहरुले गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका हुन् । महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीले समितिको बैठकमै उपस्थित भएर जवाफ दिनुपर्ने बताए ।

‘चैत १५ गते तीनकुनेमा भएको के हो ?’, शर्माको प्रश्न छ । उनले अघि भने, ‘बैठकको मुख्य एजेण्डा नै तीनकुने घटना थियो । त्यो घटनाप्रति राज्यको बुझाई के हो ? राज्यसँग चार पाँच हजार भीडलाई रोक्ने क्षमता पनि नभएको हो ?’

काँग्रेसकै अर्का सांसद सरिता प्रसाईंले पनि गृहमन्त्रीले समितिको बैठकमा आएर जवाफ दिनुपर्ने बताइन् । ‘तीनकुने घटनाको मुख्य कारण के हो ? घटना संयोग थियो वा सुनियोजित ? सार्वजनिक भएका विभिन्न फोटो भिडियोले घटनालाई रहस्यमयी र शंकास्पद बनाउदै लगेको छ । यसमा गृहमन्त्रीको जवाफ के हो ? यही बैठकमा आएर दिनुपर्छ’, उनको माग छ । 

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. चन्दा कार्कीले तीनकुने घटना नियोजित हुनेसक्ने जिकिर गरेकी छन् । उनका अनुसार प्रहरीले स्टेजमा अश्रुग्याँस प्रहार गरेपछि प्रदर्शन भड्किएर हिंसामा परिणत भएको हो । 

‘सामाजिक सञ्जालमा सार्वजनिक भएका जति पनि भिडियो छन्, त्यसले घुसपैठको संकेत गरेका छन्’, कार्कीले सोधिन्, ‘गरेको हो भने कसले किन गर्यो ? सरकारले सत्यतथ्य अनुसन्धान गरेर यही बैठकमा जवाफ दिनुपर्छ ।’
 

टिप्पणीहरू