देवत्वकरणमा कुलमानले अर्बौं खर्च गराएको महान्यायाधिवक्ताको आरोप

देवत्वकरणमा कुलमानले अर्बौं खर्च गराएको महान्यायाधिवक्ताको आरोप

महान्यायाधिवक्ता रमेश बडालले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङले संस्थाको खर्चमा आफ्नो देवत्वकरण गराएको आरोप लगाएका छन् । उनले त्यसका लागि युट्युब च्यानलहरुमा करोडमा नभएर अर्बमा खर्च गरेको बडालले अदालतको इजलाससमक्ष दाबी गरेका हुन् ।

बर्खास्तीपछि कुलमानले सर्वाेच्च अदालतमा दायर गरेको रिटमा सरकारको तर्फबाट बोल्दै महान्यायाधिवक्ता बडालले भनेका छन्, ‘युट्यूब च्यानलमा कुलमानले गराएको सरकारी खर्चको हिसाब निकाल्दैछौं । त्यो रकम करोडमा होइन श्रीमान अर्बाैं रुपैयाँमा परिचालन गरिएको छ ।’

उनले इजलासलाई थप प्रष्ट पार्दै त्यो रकम देवत्वकरणमा प्रयोग भएको उल्लेख गरे । बडालले यसअघि ऊर्जामन्त्री दीपक खड्काले लगाएको आरोपलाई बेलिबिस्तार लगाएका हुन् । भारतबाट बिजुली आयात भएका कारण लोडसेडिङ अन्त्य भएको, बक्यौता नउठाएको, सरकारको अनुमति नलिइ भारतसँग विद्युत् व्यापारको सम्झौता गरेको कारण महान्यायाधिवक्ताले दिएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाई भइरहेको छ । उक्त इजलासको पेशीमा पहिले बर्खास्त र हालै नियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट पनि राखिएको छ ।

टिप्पणीहरू