राजावादीहरुको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख

राजावादीहरुको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख

सरकारले तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने भएको छ । 

सिंहदरबारमा आजको बसेको गृहमन्त्रीस्तरीय बैठकले राहतस्वरुप प्रतिपरिवार १० लाख दिने निर्णय गरेको हो । चैत १५ गते शुक्रबार राजावादी समूहले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक घटनामा परिणत हुँदा पत्रकार सुरेश रजक र सुमो चालक सविन महर्जनको मृत्यु भएको थियो ।

पत्रकार रजक राजवादी प्रदर्शनकारीले आगजनी गरिएको घरभित्र जलेको अवस्थामा भेटिएका थिए भने महर्जनलाई प्रहरीले हानेको गोली लागेको थियो । उक्त घटनामा गोली लागेर घाइते भएकाहरु हकमा भने मन्त्रालयले निर्णय गरेको छैन । 

यद्यपि, प्रहरी अनुसन्धान सकिएपछि पीडितहरुलाई राहत तथा क्षतिपूर्ति दिने बाटो खुला नै रहेको गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यले जनआस्थालाई जानकारी दिए । उनका अनुसार आजको बैठकमा रजक र महर्जनको विषयमा मात्रै निर्णय गरिएको छ ।

‘तत्कालको लागि दुई मृतकका परिवारलाई दश लाखका दरले राहत दिने निर्णय भएको छ’, उनले भने, ‘अन्य घाइतेहरुको विषयमा कुनै निर्णय भएको छैन, प्रहरी अनुसन्धान सकिएपछि बाटो खुल्छ ।’

उता भाटभटेनी सुपरमार्केटका संस्थापक मीनबहादुर गुरुङले पनि मृतक रजक र महर्जनको परिवारलाई क्रमसः पाँच र तीन लाख सहयोग गरेका छन् ।

टिप्पणीहरू