विनोद चौधरीको ट्रयाक 2 : ‘ट्रम्प गोल्ड कार्ड’लिनेबारे तर्कना

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘ट्रम्प गोल्ड कार्ड’ लिने तयारी गरेका छन् । मुलुकको एक मात्र डलर अर्बपतिको रुपमा प्रचार गर्दै आएका उनले हालै मात्र आफ्नो सम्पत्तिमा २० करोड डलर अर्थात करिब २८ अर्ब रुपैयाँले बढोत्तरी भएको जनाएका छन् । तर, मुलुकभित्र राज्यलाई कर तथा राजश्व बुझाउने व्यापारी तथा व्यवसायीहरुको सूचीमा भने उनी निकै पुछारमा पर्छन् ।
फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति सन् २०२५ को प्रारम्भमा २ अर्ब डलर बराबर पुगेको छ । अघिल्लो वर्ष एक अर्ब ८० करोड डलर थियो । उनी यतिखेर विश्वका अर्बपतिहरुको सूचीमध्ये १७६३ नम्बरमा छन् ।
राजनीतिक रुपमा काँग्रेससँग नजिक भए पनि पछिल्लो समय मन्त्री बन्न नसकेको,विभिन्न समस्यालाई पार लगाउन राजनीतिक दलका नेताहरुले सहयोग नगरेको,नबिल बैंकबाट ढाका लैजान अड्केको लाभांशवापतको दशौं लाख डलर रिलिजमा प्रशासनिक सहयोग नमिलेको,वाइवाइको कमसल गुणस्तरबारे वास्तविकता बाहिर आएपछि मुलुकभित्रको बिक्री घटेकोमा उनी चिन्तित रहेको चौधरी ग्रुप स्रोतको दाबी छ । त्यसतर्फ चिन्तित हुने भविष्यलाई लक्षित गरेर नयाँ दिल्ली, दुबई,कोलम्बो,ढाका,युरोप,माल्दिभ्स,अफ्रिका र सिंगापुरको व्यवसाय सञ्चालन अमेरिकाबाट गर्न सहज हुने हिसाबले उनी पारिवारिक सल्लाहमा जुटेको बताइन्छ ।
५० लाख अमेरिकी डलरमा किन्न सकिने ‘ट्रम्प गोल्ड कार्ड’ पछिल्लो एक महिनामा विश्वका एक हजार जना अर्बपतिले खरिद गरिसकेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । नेपाली रुपैयाँ करिब ७० करोडमा किन्न सकिने उक्त कार्डबारे चौधरी परिवारले समेत चासो देखाएको केही व्यवसायीको दाबी छ । यो कार्ड लिएको परिवारलाई अमेरिकी नागरिकतासहित उच्च सुरक्षा, व्यावसायिक वातावरणलगायत सुविधा दिने अमेरिकाले जारी गरेको हालैको ‘ट्रम्प गोल्ड कार्ड’ कार्यविधिमा उल्लेख छ । मनमा गोल्ड कार्ड लिने तर्कना उठे पनि नेपालको साँसद पदलाई त्यसले पार्ने असरको पाटो भने छुट्टै छ ।
टिप्पणीहरू