डिभोर्सको मुद्दा चलिरहँदा पत्नीको कोठामा जानेलाई खतरा

सर्वोच्च अदालतले सम्बन्धविच्छेदको मुद्दा चलिरहँदा एक्लै पत्नीको कोठामा जाने कार्यलाई अस्वाभाविक हुने ठहर गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सम्बन्धविच्छेद र वैवाहिक जबरजस्ती करणीको मुद्दा अदालतमा विचाराधीन हुँदा पति एक्लै पत्नीको कोठामा जाने विषयलाई स्वाभाविक मान्न नसकिने आदेश दिएको छ ।
आदेशमा लेखिएको छ,‘पीडित र प्रतिवादीबीच यसभन्दा पहिले पनि वैवाहिक जबरजस्ती करणी र सम्बन्धविच्छेद मुद्दा चलिरहेको अवस्था पनि देखिएको छ । सम्बन्धविच्छेद र वैवाहिक जबरजस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने विषय पनि स्वाभाविक देखिँदैन ।’
परिवर्तित नाम २६ परिसर (२६) ०७९–८० ले परिवर्तित नाम २६ परिसर २६ (क) विरुद्ध अदालतमा सम्बन्धविच्छेद र वैवाहिक जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । अदालतमा मुद्दा चलिरहँदा प्रतिवादी परिवर्तित नाम २६ परिसर २६ (क) वादीको कोठामा गएका थिए । उनी त्यहीँबाट पक्राउ परेपछि उक्त विषय पेचिलो बनेको हो ।
सम्बन्धविच्छेद र वैवाहिक करणीको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २०८० वैशाख १९ गते प्रतिवादीलाई धरौटी तारेखमा राख्ने आदेश भयो । काठमाडौं जिल्ला अदालतको आदेश चित्तबुझ्दो नभएपछि पीडित उच्च अदालत,पाटन पुगिन् । उच्चले भदौ २१ गते काठमाडौंकै आदेश सदर गरिदियो । त्यसपछि पीडितले बेरितको आदेश बदर माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरिन् ।
सर्वोच्चले उच्चको आदेश बदर गरेर प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ६७ (१)(ख) बमोजिम पुर्पक्षको लागि थुनामा पठाएको छ ।
टिप्पणीहरू