प्रसाईंको ढाकछोप गर्दै सरकारलाई राप्रपाको पत्र

प्रसाईंको ढाकछोप गर्दै सरकारलाई राप्रपाको पत्र

राजा फर्काउने आन्दोलनमा व्यस्त रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू आज सिंहदरबार छिरेका छन् । चैत १५ गतेको घटनाबारे सरकारलाई आफ्नो तर्फबाट जानकारी गराउन राजेन्द्र लिङ्गदेनसहितका नेताहरु आज दिउँसो कार्यवाहक प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार गएका हुन्।  

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन हिंसात्मक बनाउन राज्य पक्षको भूमिका रहेको राप्रपाको दाबी रहँदै आएको छ । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने उनीहरुको तयारी थियो । तर, प्रधानमन्त्री देश बाहिर रहेकाले कार्यवाहक प्रम प्रकाशमान सिंहलाई भेटेर उनीहरुले ध्यानाकर्षण पत्र बुझाए । 

चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका कमाण्डर प्रसाईंले निषेधित क्षेत्र तोडेपछि एकाएक भाँडभैलोमा परिणत भएको थियो । त्यसपछि हिँसामा उत्रिएका प्रदर्शनकारी तोडफोड आगजनी र लुटपाटमा उत्रिएका थिए । घटनामा दुई जनाको ज्यान गएको छ भने अर्बौंको भौतिक सम्पत्ति नष्ट भएको छ । तर, राप्रपाले भने राजवादीका कारण नभई प्रहरी-प्रशासनका कारण उक्त दिन हिँसा भड्किएको आरोप लगाउँदै आएको छ । 

ध्यानाकर्षण पत्रमा आन्दोलन हिंसामा परिणत हुने अवस्था किन आयो ? भनी सोधिएको छ । 'चैत १५ गते यतिधेरै फायरिङ गर्नुअप्र्ने अवस्था किन आयो ? प्रदर्शनकारी पछि हटिरहेका बेला पनि किन गोलि चल्यो ? गल्लीमा रहेका आंनागरिक पनि कसरी घाइते भए ?', राप्रपाको सोधनी छ, ' सभामा भाग लिएकै आधारमा राप्रपा नेता रविन्द्र मिश्र, डा. धवल शमशेर राणा लगायतलाई राज्यविरुद्धको अपराध जस्तो गम्भीर प्र्रक्रितिको मुद्दा किन लगाइयो ?' 

राप्रपाले छानविन समिति गठन र गृहमन्त्रीको राजीनामासहित ५ बुँदे मागसमेत अघि सारेको छ । आन्दोलनको दिन फिल्डको नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई बर्खास्त गर्नुपर्ने, मृतकलाई शहीद घोषणा र क्षेतिपूर्ति दिनुपर्ने, रविन्द्र र धवललाई तत्काल रिहा गर्नुपर्नेजस्ता माग उसले राखेको छ ।

टिप्पणीहरू