बालेनको बलमिच्याइँ तोडियो, गुरागाईँको ‘इन्ट्री’

बालेनको बलमिच्याइँ तोडियो, गुरागाईँको ‘इन्ट्री’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको अवरोधका बीच वडाध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएरै छोडेका छन् । २० जना वडाध्यक्ष र कर्मचारीहरुको जोडबलमा उनलाई कार्यकक्ष प्रवेश गराइएको हो । सो क्रममा ढोकाको सिसा फुटेको छ । 

उनले आफ्नो कार्यभार सम्हालिसकेका छन् । ‘नगरप्रहरीको रुकावटका बाबजुद ताला फोडेर उहाँलाई कार्यकक्षमा प्रवेश गराइएको छ । उहाँले कार्यभार सम्हालिसक्नुभएको छ । वडाध्यक्षहरुसँग बसेर उहाँले छलफल गरिरहनुभएको छ’,स्रोतले भन्यो । मेयर बालेनले गत साता सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृत नपठाए सबैलाई टुकुचामा लगेर गाड्ने चेतावनी दिएका थिए । 

उनले दिएको अल्टिमेटम सकिएसँगै गुरागाईँ आज महानगर पुगेका हुन् । उनी आउने भएसँगै बालेनले बिहानैदेखि गेटमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेका थिए । उनको कार्यकक्षमा ताला लगाएर गाडीमा ह्विललक गरिएको थियो । तर, वडाध्यक्ष,कार्यपालिका सदस्य र तीन महिनादेखि तलब नपाएका कर्मचारीहरु उनको सहजीकरणका लागि ढोकामा उभिएका थिए । 

उनीहरुले ठेलमठेल गर्दै गुरागाईँलाई कार्यालय प्रवेश गराए । ताला फोड्ने क्रममा कानुनविपरीत ३ बर्षदेखि नगरप्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसएसपी राजुनाथ पाण्डेले रोक्ने कोसिस गरेका हुन् । तर,ती सबैलाई हटाएर उनलाई कार्यकक्षमा प्रवेश गराइएको छ । महानगरको नगरप्रहरी प्रमुख पाण्डे कामु हुन् । कामुको समयावधि ६ महिनाको हुने भएपनि उनी तीन वर्षदेखि नगर प्रहरीको कमाण्डर छन् । 

वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले उनलाई हटाउनुपर्ने माग गरे पनि मेयर बालेनले मानेनन् । आजको घटनापछि वडाध्यक्ष र कर्मचारीहरु उनलाई बर्खास्त गर्नुपर्ने मनशायमा पुगेको स्रोत बताउँछ ।
 

टिप्पणीहरू