जिल्ला जिल्लामा कार्यकर्ता खोज्दै राजावादी

जिल्ला जिल्लामा कार्यकर्ता खोज्दै राजावादी

अन्तिम राजा ज्ञानेन्द्र शाहको इसारामा गठन भएको नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति' ले आन्दोलनलाई जिल्ला तहमा विस्तार गर्न कार्यकर्ता खोजी गरेको छ ।   

समितिका प्रवक्ता स्वागत नेपालले वक्तव्य जारी गर्दै जिल्लास्तरको आन्दोलनलाई नेतृत्व गर्न चाहने र जिम्मेवारी निभाउन सक्नेलाई सम्पर्कमा आउन भएका छन् । योग्य, देशभक्त र राष्ट्रवादी व्यक्तिको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गर्ने भनिएको छ । 

समितिले जनआन्दोलनलाई चरणबद्ध रुपमा अघि लैजाने उद्घोष पनि गरेको छ । प्रचारात्मक कार्यक्रमदेखि अनिश्चितकालीन आमहड्ताल र अकुपाइ नारायणहिटी घोषणा गर्ने समितिको तयारी छ ।

‘श्री ५ महाराजाधिराज सरकारको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको स्वागत कार्यक्रम मात्र थियो, जनआन्दोलन थिएन । कोटेश्वर तीनकुनेमा आयोजित कार्यक्रम पनि आन्दोलन थिएन, अभियानका आफ्ना नीतिहरु घोषणा गर्ने कार्यक्रम मात्र थियो’, वक्तव्यमा भनिएको छ, ‘आन्दोलन कमजोर बनेको भन्ने देशविरोधी र निरकुंशतावादीहरुले सिर्जना गर्न खोजेको भाष्य मात्र हो, शुरु नै नभएको आन्दोलन कमजोर हुने भन्ने प्रश्नै रहँदैन ।’

त्यसो त, अहिले आन्दोलन समितिको नेतृत्व प्रा.डा जगमान गुरुङले सम्हालिरहेका छन् । पूर्वराजाले तोकेका ८७ वर्षे सुवेदी घरमै नजरबन्दमा परेपछि अर्का बृद्ध गुरुङले आन्दोलन हाँक्ने जिम्मेवारी पाएका हुन् । निर्मल निवासबाटै जनकमाण्डर बनाइएका दुर्गा प्रसाईं बेपत्ता छन् भने सचिव रविन्द्र मिश्र हिरासतमा छन् । 

प्रसाई र मिश्रहरुकै कारण चैत १५ गतेको प्रदर्शन हिंसात्मक बनेको र यसले राजावादी आन्दोलन नै अप्ठेरोमा परेको विश्लेषण भैरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका गुरुङले नेतृत्व गर्ने आन्दोलन कस्तो होला ? भन्ने एकथरीले चासो राखिरहेको अवस्था छ । नेतृत्व सम्हालेलगत्तै ‘दुर्गा प्रसाई धारिलो फलाम हो, हतियार बनाउनुपर्छ’ भन्ने उनको अभिव्यक्तिले भने आन्दोलनको भविष्य नै अन्यौलमा परेको देखिन्छ । 

उता, राजाकै नाममा राजनीति गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आगामी चैत २५ गते काठमाडौँमा प्रदर्शन गर्दैछ । जसको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले गर्दैछन् । राप्रपाले अब देखि दुर्गा प्रसाईं समूहको कार्यक्रममा पुर्नविचार गरेर मात्र सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशक दिएको बुझिएको छ ।

टिप्पणीहरू