मोर्चाको तारिफ गर्दै राजावादीको चर्को निन्दा

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहित चार वामपन्थी दल सम्मिलित समाजवादी मोर्चाले सरकारबाट प्रशंसा पाएको छ । चैत १५ गते काठमाडौँको प्रदर्शन शन्तिपूर्णरुपमा सम्पन्न गरेको भन्दै गृहमन्त्री रमेश लेखकले मोर्चाको तारिफ गर्नुभएको हो । समाजवादी मोर्चालाई धन्यवाद दिनुभएको हो ।
उक्त दिनको प्रदर्शन र त्यसपछिको परिस्थितिबारे जवाफ दिन आज प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका गृहमन्त्रीले मोर्चाको कार्यक्रमलाई शान्तिपूर्ण जुलुस प्रदर्शनको एउटा उदाहरण हो भन्नुभयो । तर, सोही दिन तीनकुनेमा प्रदर्शन गरेको राजावादी समूहको भने उहाँले खुलेर आलोचना गर्नुभयो ।
त्यसदिन समाजवादी मोर्चाले सभ्य र भव्य ढंगले कार्यक्रम सम्पन्न गर्दा राजावादीहरु भने अराजक ढंगले प्रस्तुत भएको गृहमन्त्रीको भनाई छ ।
'त्यो कार्यक्रममा आलोचनाका कुराहरू पनि भए, आफ्ना विचारका अभिव्यक्ति पनि भए । लोकतान्त्रिक मूल्य र मान्यताअनुरूप अत्यन्त सभ्य र भव्य ढंगले कार्यक्रम सम्पन्न भयो', उहाँले भन्नुभयो, 'त्यसकारण समाजवादी मोर्चाका कार्यक्रम आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु ।'
राजावादीको प्रदर्शनलाई ‘हिंसात्मक, अमानवीय, अमर्यादित र उच्छृंखल’को संज्ञा दिँदै गृहमन्त्री लेखकले राजनीतिक व्यवस्था समाप्त गर्ने उद्देश्यबाट प्रेरित रहेको जिकिर गर्नुभयो ।
'यसमा कुनै द्वविधा छैन, कुनै भ्रम छ । यो प्रदर्शन, यो कार्यक्रम नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्बन गरेको राज्यव्यवस्था, राज्य प्रबन्ध र यो व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो', उहाँले भन्नुभयो ।
टिप्पणीहरू