प्रधानमन्त्रीद्वारा थाइल्याण्डमा पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ कै कुरा

प्रधानमन्त्रीद्वारा थाइल्याण्डमा पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ कै कुरा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनको आज औपचारिक उद्घाटन भएको छ । थाइल्याण्डको बैंककस्थित होटल सांग्रिलामा सात वटै सदस्य राष्ट्रका शीर्ष नेताहरुको उपस्थितिमा भव्य उद्धघाटन गरिएको हो । 

सम्मेलनका सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अस्ति दिउँसो बैंकक पुग्नुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसलगायत हिजो बिहान पुग्नुभएको थियो । 

शिखर सम्मेलनमा निर्धारित क्षेत्रीय कार्यसूची पेश र म्यान्मारमा गएको भूकम्प प्रभावितकाका लागि प्रार्थना पारित गरेपछि शीर्ष नेतृत्वको सम्बोधन शुरु भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने धारणा राख्नुभयो ।

बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा उहाँले जोडसमेत दिनुभएको छ । सम्मेलनमा बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलङ्काका प्रधानमन्त्रीहरुले सम्बोधन गरेका छन् । अन्त्यमा थाइ प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले सम्मानसहितको धारणा राखेपछि सम्मेलन समापन हुनेछ । 

आज बिहान प्रधानमन्त्री ओलीले म्यान्मारका सैनिक प्रमुख जनरल मिन आंग सेसँग अनौपाचारिक भेटवार्ता गर्नुभएको थियो । आमन्त्रित शीर्ष पाहुनाहरुको लागि ३८ वर्षीया थाइ प्रधानमन्त्री शिनावात्राले हिजो साँझ डिनर आयोजनासमेत गर्नुभएको थियो । 

बिम्स्टेक सात देशको क्षेत्रीय संगठन हो । बिम्स्टेक अर्थात् बे अफ बंगाल इनिसियटिभ फर मल्टी सेक्टर टेक्निकल एण्ड इकोनोमिक्सको ओपरेशनको मुख्य कार्यालय ढाकामा छ । 

सन् १९९७ मा आर्थिक सहायतका उद्धेश्य राखेर बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्ड मिलेर यो संगठन गठन गरेका थिए । त्यसको एक वर्षपछि श्रीललंका पनि आवद्ध भएको थियो । भूटान र नेपाल भने सन् २००४ सदस्य बनेका  हुन् ।

टिप्पणीहरू