कुन कुन मन्त्रीसँग काँग्रेस क्रुद्ध

कुन कुन मन्त्रीसँग काँग्रेस क्रुद्ध

अहिले कांग्रेसलाई आफ्ना मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकनको चिन्ताले निकै सताएको छ । विशेषगरी स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पर्यटनमन्त्री बद्रि पाण्डे र ऊर्जामन्त्री दीपक खड्काले पार्टीको बद्नाम नै गराएको निश्कर्षमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत पुगिसकेका छन् । त्यसैले त्यहाँभित्र नयाँ मन्त्रीको खोजी शुरु भइसकेको बताइन्छ । बालकृष्ण खाँणलाई फकाउन मञ्जु खाँणलाई ल्याउनकै लागि पनि मन्त्री हेरफेर नगरी भएको छैन । 

समाचार स्रोतका अनुसार कांग्रेसको पदाधिकारी बैठकमै मन्त्रीहरुको कमसल प्रस्तुतिबारे चिन्ता व्यक्त भएको थियो । नेपालको पर्यटन क्षेत्रमा विशेषगरी नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमलाई चरम समस्याले जकडिरहेको बेला मन्त्री बद्रि पाण्डे भने पर्यटन बोर्डको पैसामा श्रीमतीसमेत युरोप भ्रमणतिर निस्किएका छन् । नेपाल एयरलाइन्ससँग चालु हालतमा कुनै पनि ट्विनअटर जहाज छैन ।

घरेलु उडान निजी क्षेत्रका जहाजले धानिरहेका छन् । त्यसैगरी नेपाल एयरलाइन्स लगभग ५० अर्ब घाटामा छ । नेपाली जहाजलाई युरोपेली आकाशमा उड्न प्रतिबन्ध लागेको छ । त्यसलाई हटाउन कुनै प्रकारको पहलकदमी देखाउन सकिएको छैन । वाइडबडी जहाज चल्न पाएको छैन, न्यारो बडी बिग्रेर बर्बाद छ । उता पोखरा एयरपोर्टको वार्षिक १ अर्ब रूपैयाँ त ब्याज मात्रै तिर्नुपर्ने अवस्था छ । जबकि त्यहाँको आम्दानी २५ करोडभन्दा बढी छैन । त्यो घाटा कहाँबाट कसरी पूर्ति गर्ने भन्ने कार्ययोजना या चिन्ता मन्त्री पाण्डेले लिएको देखिँदैन ।

समाचार स्रोतका अनुसार, बरु उनले किन काम गर्न नसकेको भन्ने सभापतिको प्रश्नमा जवाफ दिएका थिए– ‘यो यस्तो मन्त्रालय रहेछ– समस्या धेरै, काम गर्न नसकिने, मलाई त गाह्रो प¥यो ।’ त्यस्तो जवाफ सुनेपछि सभापति शेरबहादुर देउवाले प्रष्ट शब्दमा भनेका छन्– त्यसोभए काम गर्न सक्ने आउँछ र उसैले गर्छ । 

केही न केही जश थप्ने अपेक्षासहित स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएका प्रदिप पौडेलको हालत उस्तै छ । उनले मन्त्री बन्नेबित्तिकै स्वास्थ्य बीमाको रकम १ लाखबाट बढाएर पाँच लाख पु¥याउने घोषणा गरे । तुरुन्तै शुभचिन्तकले यस्ता हावादारी कुरा नगर्नु भने तर उनलाई त्यस्तो सुझावले छोएन । कहिले जलनका बिरामीलाई निःशुल्क भन्छन् तर बर्न हस्पिटलमा पुगेका बिरामीले त्यस्तो सेवा पाउँदैनन् ।

नयाँ घोषणा गर्ने तर बिरामीले सेवा नपाउने भएपछि थप निराशा बढ्ने नै भयो । त्यसैगरी उज्यालो नेपालका नायक भन्दै आम नेपालीबाट वाहवाही पाइरहेका कुलमान हटाउने ऊर्जामन्त्री दीपक खड्कासँग पनि कांग्रेसका नेता खुशी छैनन् । नेपालमा लोडसेडिङ अन्त्य गरेको जस भारतलाई दिने उनको भाषण धेरैलाई चित्त बुझेको छैन । त्यसमाथि मेडिकल व्यवसायी सुनिल शर्मालाई पूर्वमा र उद्योगी बिनोद चौधरीलाई पश्चिममा दिएको १२०० मेगावाट हाइड्रोपावरको लाइसेन्स खारेज भएपछि अत्तालिएका मन्त्रीले पार्टीलाई नै बद्नाम गराएको निश्कर्षमा नेतृत्व पुगेको बताइन्छ ।

एमालेबाट उद्योगमन्त्री बनेका दामोदर भण्डारीसँग पनि कांग्रेसीहरू रिसाएका छन् । उनले सिमेन्ट र आइरन इण्डष्ट्रिजलाई मूल्य बढाउन दिएको अनुमति धेरैका निम्ति टाउको दुखाइको विषय बनेको छ । सिमेन्ट र डण्डीका व्यापारीलाई मूल्यवृद्धि गर्न मन्त्रीले अनुमति दिँदा समग्रमा निर्माण क्षेत्रमा २५ अर्बभन्दा बढीको लागत बढ्ने निश्कर्ष छ । त्यस अलावा विश्व स्वास्थ्य संगठनले कडाइसाथ बर्जित गरेको गुट्खा, खैनीजस्ता उद्योगलाई अनुमति दिन लागिपरेको भन्दै स्वास्थ्य क्षेत्रका विज्ञ पनि आक्रोशित बनेका छन् । 
 

टिप्पणीहरू