महिनौं बित्यो, बिन्दा र उषालाई खै पत्र !

महिनौं बित्यो, बिन्दा र उषालाई खै पत्र !

पार्टीभित्र आर्थिक पारदर्शिता र सुशासनको पक्षमा बोलेबापत नेतृत्वको दपेटाइमा परेका नेत्रीद्वय डा. विन्दा पाण्डे र उषाकिरण तिमिल्सेनामाथि हेडक्वार्टरले अघोषित नाकाबन्दी लगाएको छ । भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङसँग हात थापेर पार्टी कार्यालय भवन बनाउन उचित नहुने धारणा राखेकै कारण जिम्मेवारी खोसिएका तर अहिलेसम्म औपचारिक पत्र नपाएका उनीहरूलाई च्यासलको ढोका बन्द प्रायः भएको हो । 

स्थायी समिति सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सिनाले व्यापारीसँग चन्दा लिएर कार्यालय निर्माण गर्दा आमरुपमा नैतिक प्रश्न उठ्ने भएकाले त्यस्तो कदम सच्याउन सामाजिक सञ्जालमार्फत नेतृत्वको ध्यानाकर्षण गराएका थिए । यसलाई पार्टी हितविपरीत भन्दै कात्तिक पहिलो साता स्पष्टीकरण सोधेको एमालेले दुई महिना अलमल गर्दै पुस १० गते कारवाहीको निर्णय गर्‍यो । सचिवालय बैठकले भीम रावलको सदस्यता खोस्दै पाण्डे र तिमिल्सिनालाई निलम्बनमा राखेको थियो । तर, ६ महिनाका लागि कारवाहीमा परेका उनीहरूले ३ महिना बितिसक्दा पनि औपचारिक पत्र पाएका छैनन् । कुनै बेला व्यवस्थित संगठन भएको पार्टी एमालेको लठीभद्र चाल बुझ्न यो यौटै घटना काफी छ !

पार्टीमा शुद्धीकरणको मुद्दा उठाएवापत निलम्बन खेपिरहेकी उनै विन्दाले हालै ‘भुइँमान्छे’ नामक पुस्तक बजारमा ल्याएकी छन् । ०२८ को झापा विद्रोहदेखि ०४६ सालसम्म कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन विभिन्न पक्षबाट भएका सहयोगमा आधारित पुस्तक पार्टी कार्यालयमै विमोचन गर्ने तयारी थियो । तर, कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण दस्तावेज हुनसक्ने पुस्तकको एमाले नेतृत्वले स्वामित्व लिन त चाहेन नै, पार्टी कार्यालयमा ठाउँसमेत उपलब्ध नगराएपछि फागुन २१ गते सुखानीको जंगलमा पुगेर सानो कार्यक्रमका बीच विमोचन गरियो ।

हुन त नेपालको कम्युनिष्ट आन्दोलनमा सुखानी आफैँमा ऐतिहासिक थलो हो । सुखानी हत्याकाण्डलाई हरेक वर्ष कम्युनिष्टले विशेष रूपमा सम्झने गरेका छन् । ०२९ सालमा झापा आन्दोलनका योद्धा नेत्र घिमिरे, रामनाथ दाहाल, विरेन राजवंशी, कृष्ण कुइँकेललगायत पाँच जनालाई झापाबाट इलाम जेल सार्ने क्रममा तत्कालीन पञ्चायती सत्ताले सुखानीको जंगलमा लगेर क्रुरतापूर्वक हत्या गरेको थियो । झापा आन्दोलनका पाँच जनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ का नामले चर्चित छ । 

सोही आन्दोलनका संस्थापक नेता नरेश खरेल, सुखानी काण्डमा जेल परेका दुई जना ज्येष्ठ कमरेड र लेखकसहित चार जनाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए । नेपाली नेल्सन मण्डेला भनिने नरेश झापा आन्दोलनमा केपी ओलीभन्दा ३ वर्ष बढी अर्थात् १७ वर्ष जेल परेका नेता हुन् । तर, पछिल्लो समय एमालेको औपचारिक जिम्मेवारीमा छैनन् उनी । सौराहा महाधिवेशनमा दुर्गा प्रसाईं र कोमल वलीहरूलाई ठाउँ पुर्‍याउन अध्यक्ष ओलीले कैंची चलाएपछि नरेश केन्द्रीय समितिबाट बाहिर परेका हुन् । अघिल्लो प्रतिनिधि सभामा सांसद रहेकी उनकी श्रीमती पवित्रा निरौला खरेललाई पनि दश भाइतिर लागेको भनेर गत चुनावमा टिकट दिइएन ।  

मालेकालका भूमिगत नेता–कार्यकर्तालाई सेल्टर दिँदै जनतासँग पार्टी सम्पर्कको सेतु भई योगदान पुर्‍याउने निर्भिक मान्छेको दस्तावेज हो, भुइँमान्छे । करिब ३०० पृष्ठको पुस्तकमा ती योद्धाहरूको वास्तविक कथा समेटिएको छ । पाण्डेले चार वर्ष लगाएर लेखेको पुस्तकमा झापादेखि सप्तरी, रौतहट हुँदै बाराको किसान आन्दोलन र नेताहरूले भूमिगतकालमा सेल्टर लिएका विभिन्न स्थानका जीवित र दिवंगत पात्रहरुको अनुभूति संग्रहित छन् । प्रकाशनअघि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सल्लाहकार समितिका अध्यक्ष अमृत बोहोराले पाण्डुलिपी हेरेका थिए । उनीहरूको अनुमति लिएर पुस्तक प्रकाशनमा ल्याएको भए पनि अध्यक्ष ओलीलाई मान्य नहुँदा एमालेले स्वामित्व लिन चाहेन । 

‘यस्तो ऐतिहासिक दस्तावेजलाई पार्टीले अपनत्व लिनुपर्नेमा उल्टै विमोचन गर्न ठाउँसमेत दिइएन’, पाण्डे निकट स्रोतले गुनासो गर्दै भन्यो, ‘प्रचार विभागको हलमा कार्यक्रम गर्न खोज्दा राजेन्द्र गौतम र गणेश पाण्डेहरूले ठाडै अस्वीकार गरे । झापा जानसमेत पार्टीबाट अनुमति लिनुपर्ने उर्दी जारी गरेर इलाका हदबन्दी तोक्ने काम भयो ।’
 

टिप्पणीहरू