पूर्वराष्ट्रपति भण्डारी एमाले नेतृत्वमा फर्कने पक्का

पूर्वराष्ट्रपति भण्डारी एमाले नेतृत्वमा फर्कने पक्का

नेकपा एमालेको २०८३ मा हुने एघारौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत पार्टी अध्यक्ष हुने सम्भावना प्रबल बन्दै गएको बेला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीका कार्यकर्ताको मनोभावना बुझेकी छन् । बुद्धजन्मस्थल लुम्बिनीस्थित बौद्ध गुम्बा शिलान्यास तथा संघ, प्रदेश र स्थानीय निकायमा निर्वाचित महिला प्रतिनिधि, सांसद, जिल्ला समन्वय समिति, मेयर र उपमेयरहरूसँग अन्तरक्रियाको कार्यक्रम बनाएर तीन रात भैरहवामा बिताएकी भण्डारीले प्रदेशका अगुवा कार्यकर्ताको राय बुझेकी हुन् ।

पार्टी सचिव पद्मा अर्याल र पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठसहित तीन अंगरक्षक लिएर १४ चैतमा भैरहवा झरेकी भण्डारीले गौतमबुद्ध विमानस्थलबाटै कार्यकर्ताको न्यानो माया पाइन् । पाँचतारे होटल सिद्धार्थ भिलासाको स्वीट रुम ३०५ मा रहँदा एमाले कार्यकर्तासँग मात्र भेटघाट गरिन् । बुद्ध जन्मभूमिबाट सकारात्मक सन्देश पाइन् । उनलाई सामुहिक भेट्नेले खुलेर कुरा नगरे पनि एक्लाएक्लै जानेले नेतृत्वमा आउँदा निकै राम्रो हुने सुझाव दिएका थिए ।

भण्डारीले मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक योजनामन्त्री भूमिश्वर ढकाल, पूर्वमुख्यमन्त्री तथा पोलिटब्युरो सदस्य लिला गिरी, पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य खिमलाल भट्टराई, संघीय सांसद बासुदेव घिमिरे, प्रदेश सांसद बिष्णु पन्थी, तुल्सी चौधरी, भोजप्रसाद श्रेष्ठलगायतसँग सामुहिक तथा एक्लाएक्लै छलफल गरेकी थिइन् ।

फर्किने दिन बिहानसम्म पनि उनलाई कार्यकर्ताले छाडेनन् । सिनियर नेताहरूले एक्लाएक्लै भेटेका थिए भने सामुहिक भेट्नेहरू झण्डै दुई दर्जन समूहमा थिए । बाँके, बर्दिया, रोल्पा, रुकुमतिरका कार्यकर्ता फाट्टफुट्ट थिए भने अधिकांश लुम्बिनीकै ।

गत वर्ष सम्पन्न प्रदेश अधिवेशनपछि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच तीब्र गुटबन्दी रहेको भनिएकै बेला भण्डारीलाई दुवै गुटका कार्यकर्ताले भेटेका थिए । उनले लुम्बिनी, नवलपरासीको पवित्र तीर्थ त्रिवेणीधाम र पाल्पाको कामाख्या मन्दिर दर्शन गरिन् । भैरहवा, लुम्बिनी, परासी र त्रिवेणी सुस्तामा एमाले पंक्तिले भव्य स्वागत गरेका थिए ।

कार्यकर्ताका धारणा बुझ्ने र पार्टीलाई सशक्त बनाएर लैजानुपर्ने कुरामा उनको जोड थियो । ‘उहाँले एघारौं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुने उच्चारण त गर्नुभएन तर पार्टीमाथि भैरहेको चौतर्फी आक्रमणबारे भने चिन्ता ब्यक्त गर्नुभयो,’ भण्डारीसँग सामुहिक तथा एक्लै भेटेका एक एमाले नेताले भने– ‘सरकारका काम राम्रै भए पनि प्रचार पुगेन, अनर्गल हल्लामात्र भयो भन्नुभयो ।’भावी नेतृत्व सहमतिमै चयन गर्नुपर्छ भन्ने उहाँको भावना छ– ती नेताले जनआस्थालाई बताए ।

भण्डारीसँग भेटघाट गरेका एमाले नेताहरूका अनुसार ओलीले नै उहाँलाई अघि सार्ने प्रवल संभावना छ । ‘प्रचार गरिएअनुसार ओली र भण्डारीका कुनै गुट छैनन्, उहाँहरूबीच प्रतिष्पर्धा पनि छैन, भण्डारीलाई पार्टी अध्यक्ष बन्न ओलीले नै प्रस्ताव गर्नुहुन्छ,’ एक नेताले ठोकुवा गरे । त्यसो त ओलीका लागि भण्डारीभन्दा नजिकको विश्वासपात्र पार्टीभित्र अरु छैनन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलभन्दा ओलीलाई बढी विश्वास पूर्वराष्ट्रपति भण्डारीमाथि देखिन्छ ।

‘भण्डारी पार्टी अध्यक्ष हुँदा महिलालाई नेतृत्वमा ल्याएर उच्च सम्मान गरेको हुने, आफू अध्यक्ष नभएपनि शक्तिशाली भइने, राष्ट्रपति भैसकेकी हुनाले प्रधानमन्त्री बन्ने अवस्थामा आफैलाई साथ दिने भएकाले पनि ओलीले उहाँलाई ल्याउन खोजेको हुनसक्छ’ – एक नेताले विश्लेषण सुनाए । भण्डारीले ओलीलाई पहिलो पटक पार्टी नेतृत्वमा प्रतिष्पर्धा गर्दा उपाध्यक्ष बनेर सघाएकी थिइन् । पछिल्लोपटक पार्टीको सक्रिय राजनीतिमा फर्किने विषयमा ओलीसँग मतभेद रहेको बताइए पनि त्यो ओलीकै चाहनामा मिडिया ट्रायल मात्रै रहेको बताइन्छ । किनभने सयौं कार्यकर्ता भेटघाटमा पूर्व राष्ट्रपति भण्डारीले ओलीसँग मतभेद रहेको वा असन्तुष्ट रहेको भनेर छिरिक्क पनि संकेत दिइनन् । एघारौं महाधिवेशनबाट ओलीकै प्रस्तावमा भण्डारी सर्वसम्मत पार्टी अध्यक्ष हुने र २०८४ मा पार्टीले बहुमत ल्याएर ओली प्रधानमन्त्री हुने तयारी भने भित्रभित्रै चलिरहेको प्रष्ट बुझ्न सकिन्छ ।

 

टिप्पणीहरू