माउ एमालेसँगै अखिललाई पनि घाटा

माउ एमालेसँगै अखिललाई पनि घाटा

माउ पार्टी एमाले घरी पहिलो घरी दोस्रो हुँदै आए पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को इतिहासमा अनेरास्ववियु पहिलोपल्ट दोस्रो स्थानमा खस्केको छ । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा सम्पन्न निर्वाचन नतिजाले यस्तो देखाएको हो । चैत ५ गते सम्पन्न ४२ वटा आंगिक र २५० भन्दा बढी सम्बन्धनप्राप्त क्याम्पसमध्ये नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ १३१ क्याम्पसमा विजय हासिल गरी पहिलो बनेको छ भने अखिलले ११६ वटा क्याम्पस र माओवादीको अखिल क्रान्तिकारीले ८५ वटा क्याम्पसमा जितेको छ । एकीकृत समाजवादीका विद्यार्थीले तीन क्याम्पस र जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थीले एक महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा बाजी मारेका छन् । 

यो चुनावले विद्यार्थीमाझ एमाले अखिलको लोकप्रियता खस्कँदो, कांग्रेसको यथास्थितिमै रहेको र माओवादीले छलाङ मारेको देखाएको छ । अखिल क्रान्तिकारीले नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठनसँग ठाउँ ठाउँमा गठबन्धन गरेको थियो भने एसनिकट विद्यार्थी संगठनले एमाले अखिलसँग पनि रत्नराज्यलगायत कतिपय क्याम्पसमा गठबन्धन गरेको देखिन्छ । 

एमाले अखिलले जितेको ठाउँमा न्यून मात्रामा विद्यार्थी छन्् भने विद्यार्थीको बढी चाप भएको क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले जितेका छन् । एमाले अखिलले इतिहास कायम राख्दै आएको पुल्चोक इञ्जिनियरिङ क्याम्पस गुमाएको छ, त्यहाँ स्वतन्त्र विद्यार्थी स्वयं श्रेष्ठले बाजी मारेका छन् । पाटन संयुक्त क्याम्पसमा  स्थगित भए पनि चुनाव हुँदा जित्न सक्ने अवस्था नरहेको बताइन्छ । काठमाडौं उपत्यकाका आंगिक क्याम्पसमध्ये नेपाल कमर्श मीनभवन र महेन्द्ररत्न ताहाचलमा मात्रै एमाले अखिलले जितेको अवस्था छ । विशेष गरी टेक्निकल कलेजमा अखिल क्रान्तिकारीले उत्साहजनक रूपमा विजय हासिल गरेको छ । अखिल क्रान्तिकारीमा लगाइएको उमेर हदबन्दीका कारण पनि यस्तो भएको हुन सक्छ । गणितीय हिसाबमा एमाले अखिलले चित्त बुझाए पनि गुणात्मक रूपले हेर्ने हो भने निकै ठूलो घाटा आउँदो दिनमा माउ पार्टीले भोग्नुपर्ने विश्लेषण गरिएको छ ।

२०८४ सालको निर्वाचनमा गाउँ फर्किने विद्यार्थीको संख्याले चुनावलाई निकै प्रभाव पार्न सक्छ । त्यसैले एमाले सत्तामा हुँदा पनि अखिल पछि परेको छ । विद्यार्थीसँग एमालेले भिज्ने गरी काम गरेको भए यस्तो अवस्था भोग्नुपर्दैनथ्यो । पार्टीहरू प्रतिबन्धित हुँदा वामपन्थी राजनीतिको बिँडो थाम्ने काम अखिलले नै गर्दै आएको थियो । २०३७ साल चैतको नेपाल बन्द होस् या हरेक आन्दोलनको अग्रमोर्चामा अखिल देखिन्थ्यो । २०२१ सालमा सुजन खरेलको नेतृत्वमा स्थापित अखिल विद्यार्थी संगठनमध्ये सबैभन्दा पुरानो संगठन पनि हो । एमाले महासचिव शंकर पोखरेल त्रिभुवन विश्वविद्यालयको स्ववियु अध्यक्ष तथा अखिलको अध्यक्ष पनि भएका थिए । एमाले सचिव योगेश भट्टराई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री भानुभक्त ढकाल, पूर्वमन्त्री गोकुल बाँस्कोटा, कर्ण थापा, खिमलाल भट्टराई, ठाकुर गैरे, स्व.रवीन्द्र अधिकारी, रामकुमारी झाँक्री, संगठन विभाग सचिव माधव ढुंगेल, नवीना लामा, किशोरविक्रम मल्ललगायतका रातो कार कसले किन्दियो भन्ने सुनिता बरालसम्मले अखिलकै राजनीतिबाट यहाँसम्मको यात्रा तय गरेका हुन् । 

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा पनि एमाले र एस अखिल मिलेर चुनाव लड्दै छन् । नयाँ र युवा विद्यार्थीहरू नयाँ जोशसाथ विद्यार्थीमाझ गएकाले यस्तो परिणाम देखिएको हुनुपर्छ । नकारात्मक प्रभाव नेविसंघमा पनि देखिएको छ । स्वतन्त्रको नाममा चुनाव जितेपछि अखिल क्रान्तिकारीमा दुई जना स्ववियु सभापति प्रवेश गरेका छन् । पार्टी विभाजनको असरका रूपमा पनि यसलाई हेरिएको छ ।
 

टिप्पणीहरू