तीनकुने प्रकरणमा प्रहरी प्रमुखको यस्तो प्रश्टोक्ति
नेपाल प्रहरीका महानिरीक्षक (आइजी) दीपक थापाले चैत १५ गतेको प्रदर्शनमा राजावादीहरु हिंसात्मक गतिविधिमा उत्रिएपछि सुरक्षा रणनीति कार्यान्वयनमा कठिनाई भएको बताएका छन् ।
शान्तिपूर्ण कार्यक्रम गर्ने भनी अनुमति लिएकाहरु एकैचोटि अराजक र हिंसात्मक तरिकाले अघि बढ्छन् भन्ने पूर्वानुमान नगरिएका कारण परिस्थिति जटिल बनेको उनको भनाई छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलाई आज घटनाबारे जानकारी गराउँदै आइजीपी थापाले त्यसपछि बल प्रयोग गर्नुपरेको स्पष्ट पारे ।
प्रदर्शनकारीले उग्र हुँदै सिंहदरबार, संसद भवन र विमानस्थल कब्जा गर्ने भनेपछि सोहीअनुसार न्युनतम बल प्रयोग गरिएको उनले बताए । स्रोत साधनको अभावका बाबजुद कम क्षतिमा घटना नियन्त्रण गर्ने रणनीतिमा प्रहरी अघि बढेको पनि उनले दाबी गरेका छन् ।
आन्दोलनका जनकमाण्डर बनाइएका दुर्गा प्रसाईंले प्रहरीलाई नै मार्नेगरी बुलेट गाडी हाँकेपछि एकएक प्रदर्शन हिंसात्मक बनेको थियो । यस्तो उदण्डता देखाएका प्रसाईंलाई तत्काल नियन्त्रण किन नलिएको भन्ने प्रश्न उठिरहँदा आइजी थापाले शान्तिपूर्ण आन्दोलन गर्छौं भनेकै कारण फेरि मञ्चतिर पठाइएको स्पष्टिकरण दिए ।
‘त्यहाँबाट बुलेट गाडी आयो, त्यस्तो हामीले सोचेका पनि थिएनौं । मेरो २९ वर्षको जीवनमा प्रहरी मार्नेगरी यसरी कुनै गाडी आएको थिएन', उनले भने, 'त्यसपछि हाम्रो कमाण्डरले उहाँलाई नियन्त्रणमा लिएर झार्ने काम गर्यो । त्यहाँबाट हामीले उहाँलाई मञ्चमा पठाएका हौं ।'
प्रदर्शन शुरु हुनुअगाडि नै दुर्गासँगै राप्रपाका केही नेताले मञ्चबाट उत्तेजक भाषण गरेका थिए । उनीहरुले संसद भवन कब्जा गर्न भन्दै प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उकासेका थिए ।
यसबारे प्रष्ट पार्दै आइजी थापाले दुर्गा प्रसाईं योजनावद्ध रुपमा प्रहरीसँग भिड्ने तयारीका साथ आएको बताए । प्रहरी आफैंले मञ्चमा अश्रुग्याँस नहानेको पनि उनको दाबी छ ।
'उनी पुग्नुभन्दा अघि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, एकथरी मञ्चमै उत्तेजक भाषणहरु गर्ने काम गरिरहनुभएको थियो । त्यसपछि मिनभवनको पुलभन्दा पारी अश्रुग्यास हानिएको हो', उनले प्रष्ट्याए, 'आन्दोलनकारी झुण्डझुण्ड भएर आक्रमण सुरु गरे । त्यहाँ नियन्त्रण गर्दागर्दै आन्दोलनकारी बाहिर गए । संसद, सिंहदरबार, एयरपोर्ट कब्जा गर्ने भनेपछि त्यसैअनुसार बल प्रयोग गरिएको हो ।'
आन्दोलनकारीले प्रहरीको लागुऔषध ब्युरो जलाउने प्रयास गरेपछि त्यसलाई रोक्न गोली प्रहार गर्दा सविन महर्जनको निधन भएको प्रहरी प्रमुखको जिकिर छ ।
टिप्पणीहरू