डिपीलाई कार्यवाहक, रविलाई भैरहवा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ । हिजो राति बूढानीलकण्ठस्थित निवासमा पक्राउ परेका लामिछानेलाई प्रहरीले दुई जना सुरक्षाकर्मीसहित यती एअरलाइन्सको उडान नम्बर एनवाइटी ८७१ मा भर्खरै त्यहाँ लगेको छ ।
सुप्रीम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि पूर्व उपप्रधान एवम गृहमन्त्री लामिछानेलाई बिहान त्यता लगिएको हो । अदालतको आदेशपछि हिजो राति ९ बजे उनलाई पक्रन प्रहरी निवास पुगेको थियो ।
स्थानीय सिजी हिलस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर पौने १० बजे उपत्यका अपराध अनुसन्धान कार्यालय महाशाखा टेकू पुर्याएको थियो । अहिले बिहान टेकूबाट भैरहवा लगिएको हो ।
यता उक्त पार्टीको सचिवालयले गएराति बसेको भर्चुअल बैठकको निर्णय सार्वजनिक गरेको छ । सचिवालयले पक्राउ पुर्जी नलिई सभापतिलाई पक्राउ गरेको, प्रहरी बेडरुमसम्म पुगेर पक्राउ पुर्जी लेखेको आरोप लगाउँदै आज चितवनमा हुने जनयात्रा सम्पन्न गर्ने बताएको छ ।
भनिएको छ, ‘राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन । पार्टी नेतृत्वका लागि पुनः कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्याललाई तोकिएको छ ।’
टिप्पणीहरू