विपीको शालिकमा मोसो नदलेको राप्रपाको प्रष्टोक्ति

विपीको शालिकमा मोसो नदलेको राप्रपाको प्रष्टोक्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विपी कोइरालाको शालिकमा कालोमोसो नदलेको प्रष्टीकरण दिएको छ ।

हिजो नेपालगञ्ज उपमहानगरपालिका–१२, विपी चोकमा राँके जुलुस निकाल्ने क्रममा राप्रपासहित राजावादी समूहले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीको शालिकमा मोसो दलेको भन्दै चर्को विरोध भैरहेको छ । तर, राप्रपाले भने उक्त घटनामा आफ्ना कार्यकर्ताको कुनै संलग्नता नरहेको जिकिर गरेको हो । 

राप्रपा नेपालगञ्ज नगर कार्यसमितिले घटनाको दोष प्रहरीमाथि थोपरेको छ । जुलुसमा प्रहरीले गरेको हस्तक्षपका कारण शालिकमा मोसो दल्ने काम भएको भनी क्षमायाचना गरेको उसले कुनै पनि राजनीतिक दल वा व्यक्ति विशेषको भावनामा ठेस पुर्याउने नीति नरहेको पनि जनाएको छ । 

‘हामीले हाम्रो नेताहरुको रिहाईको मागको लागि मात्र गरिएको राँके जुलुसमा प्रहरीद्धारा गरिएको हस्तक्षेपमा नमालुम भवितव्य रुपमा कहाँ कसरी उक्त घटना भएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मनसाय कुनै पनि राजनीतिक दल र व्यक्ति विशेषलाई होच्याउने नभएको हुँदा सबैका आस्थाका केन्द्र देशका नेता तथा जननिर्वाचित पूर्वप्रधानमन्त्री बीपी कोइराला हामी सबैका जनप्रिय नेताप्रति हाम्रो सबै सम्मान र विश्वास रहेको छ र रही रहने छ ।’

टिप्पणीहरू