अपमान नसहने माधव नेपालको मन पूर्वराजाका सचिवको कुरो सुनेपछि शान्त

अपमान नसहने माधव नेपालको मन पूर्वराजाका सचिवको कुरो सुनेपछि शान्त

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरुको कार्यालय सुरक्षामा सरकारले विभेद गरेको गुनासो गर्नुभएको छ । 

चैत १५ गतेको तीनकुने घटनामा राजावादी आक्रमणकारीले आफ्नो पार्टी कार्यालय सखाप पार्न खोज्दासमेत सरकारले सुरक्षाकर्मी नपठाएकोमा उहाँको दुःखेसो छ । आलोकनगरस्थित कार्यालयमा आयोजित आदिवासी जनजाती महासंघको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सरकारको नियतमाथि प्रश्न गर्नुभएको छ ।

‘सरकारले नेपाली कांग्रेसको कार्यालय (सानेपा), नेकपा (एमाले)को कार्यालय (च्यासल) र नेकपा (माओवादी केन्द्र)को कार्यालय (पेरिसडाँडा)मा पनि ट्रकसहित सुरक्षाकर्मी परिचालन गर्याे’, अगाडि भन्नुभयो, ‘तर हाम्रो कार्यालय, जो यति नजिकै छ, सुरुदेखि नै चर्को चर्को भाषण गरिरहेको सुन्दा सुन्दै पनि पुलबाट यता आउन दिइयो, कुनै सुरक्षाको व्यवस्था गरिएन ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टी कार्यालयको पंखासमेत चोरी भएकोमा दुःख व्यक्त गर्नुभयो । ‘हाम्रो कार्यालयको सबै सिसा तोडेर, कोठाहरुमा आगो लगाएर, कम्प्युटर, प्रिन्टर, मेशिनहरु चोरेर, हुँदा हुँदा पंखा चोरेर लगेका छन्’, उहाँले थप्नुभयो ।  

अध्यक्ष नेपालले पूर्वराजाको नाम बेचेर अन्य व्यक्तिले फाइदा उठाउन खोजेको समेत दाबी गर्नुभएको छ । उक्त घटनापछि पूर्वराजाका संवाद सचिव फणिराज पाठकले दिएको अन्तवार्ताले मन शान्त भएको बताउँदै भन्नुभयो, ‘पूर्वराजाको एकजना सचिवले बोलेको कुरा सही हो भने...उनले राजालाई फर्काउने कुरा छैन, राजाको इच्छा पनि छैन, बाहिर चलेको हल्ला मात्रै हो भनेपछि अलिकति मन शान्त भएको छ ।’

टिप्पणीहरू