वरिष्ठ पत्रकार रिसालको निधनपछि शव अस्पताललाई

वरिष्ठ पत्रकार रिसालको निधनपछि शव अस्पताललाई

वरिष्ठ पत्रकार भैरव रिसालको हिजो साँझ निधन भएको छ । ९७ वर्षीय रिसालको हिजो राति ८ बजे बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उहाँले मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने यसअघि घोषणा गर्नुभएको थियो । सोहीबमोजिम शव अस्पताललाई हस्तान्तरण गर्न लागिएको छ ।

राष्ट्रिय समाचार समितिका पूर्व प्रमुख समाचारदाता रिसालले रेडियो सगरमाथामा प्रख्यात ‘उहिले बाजेका पालामा’ रेडियो कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

रिसालले मानवअधिकारसम्बन्धी, वातावरण संरक्षणसम्बन्धी र जगदम्बा श्री गरी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’ पुस्तक प्रकाशित छन् । स्वर्गीय रिसालका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

टिप्पणीहरू