दलित जनप्रतिनिधिलाई धकेल्दै घर बाहिर निकालेपछि बबाल

दलित जनप्रतिनिधिलाई धकेल्दै घर बाहिर निकालेपछि बबाल

नेपाली काँग्रेसनिकट दलित संघले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १३, को दलित महिला सदस्य विमला विश्वकर्मामाथि दुव्र्यवहार गर्नेउपर कारबाहीको माग गरेको छ । दलित भन्दै दुव्र्यवहार गरेकी सोही वडाकी यमुना नरालमाथि कारबाहीको माग गरिएको हो ।

गत बिहीबार नरालको घरमा रहेको काँग्रेसको वडा सम्पर्क कार्यालयमा प्रवेश गर्दा उनले ‘पानी नचल्ने जात मेरो घरभित्र किन छिरिस्’ भन्दै विमलामाथि दुव्र्यवहार गरेकी थिइन् । त्यसबेला धकेल्दै घरबाट बाहिर निकालिएको थियो । 

त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघको काभ्रे जिल्ला कार्यसमितिले आज विज्ञप्ति जारी गर्दै दोषीलाई कुनै पनि बहानामा उम्किन नदिन माग गरेको छ । ‘समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले दलितहरुले खेप्नु परिरहेको निकृष्ट प्रकारको व्यवहार खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल दलित संघ काभ्रे जिल्ला कार्यसमिति यस प्रकारका गतिविधिको सदैव विरोध गर्दछ । र, दोषीहरु कुनै पनि बहानामा उम्किन नदिन जोडदार माग गर्दछ ।’

संविधान र यसअन्तर्गत भएका कानूनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्कार, वञ्चितीकरण र हिंसालाई अपराधको रुपमा लिई त्यसलाई निषेध गरेको उल्लेख गर्दै संघले भनेको छ, ‘जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको जघन्य अपराध हो । अपराध गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याउन राज्य नचुकोस् ।’ अन्यथा, आन्दोलनमा उत्रिन बाध्य हुने समितिको चेतावनी छ ।

टिप्पणीहरू