शिक्षकहरुलाई काँग्रेस र माओवादीको साथ

सत्ता साझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आन्दोलनरत शिक्षकहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दुवै दलले शिक्षकहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गराउन दबाब दिएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका हजारौँ शिक्षक पाँच दिनदेखि सडक आन्दोलनमा छन् । उनीहरुले दिनहुँ माइतीघरदेखि नयाँ बानेश्वरसम्म जुलुस निकाल्ने गरेका छन् । तर सरकारले शिक्षक आन्दोलनलाई गम्भीरतापूर्वक नलिएको भन्दै माओवादीले सरकारलाई खबरदारी गरेको छ ।
सरकारले हजारौँ शिक्षक र लाखौँ विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलबाड गरिरहेको माओवादीको ठहर छ । पार्टी उपाध्यक्ष एव्म प्रवक्ता अग्नि सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘देशलाई गम्भीर असर गर्ने प्रकृतिका ऐनहरु निसंकोच अध्यादेशमार्फत् जारी गर्नसक्ने सरकारले अहिले शिक्षकहरुको आन्दोलन चर्किएपछि बजेट अधिवेशनबाट विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पद छ ।’
सरकार गठन भएको १० महिनासम्म पनि शिक्षकहरुको मागलाई प्राथमिकतामा नराखिएको विज्ञप्तिमा उल्लेख छ । गत वर्ष असोजमा भएका सहमति कार्यान्वयन गर्न आग्रह गर्दै थप भनिएको छ, ‘विशेष अधिवेशन वा अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरुलाई शैक्षिक जिम्मेवारी पुरा गर्ने वातावरण बनाउन सरकारलाई अपील गछौँ ।’ यसअघि हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि माग पूरा नभएसम्म आन्दोलनबाट विचलित नहुन शिक्षकहरुलाई सुझाव दिनुभएको थियो ।
उता नेपाली कांग्रेसको शिक्षा विभागले पनि शिक्षकहरुको माग पूरा हुने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । विभाग प्रमुख नैनसिंह महरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि शिक्षक महासंघसँग यसअघि भएको सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ता संवादको पहल थाल्न माग गर्दछौँ ।’
माग पूरा नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान छ । उनीहरुले सरकारलाई तीन वटा विकल्पसमेत दिएका छन् । अध्यादेश ल्याएर वा विशेष अधिवेशन बोलाएर वा चाँडै बर्खे अधिवेशन बोलाएर शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।
टिप्पणीहरू