सडकमा नसुत्न आग्रह गर्नुभएका प्रधानमन्त्रीको एउटा शर्त
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । तर, त्यसका लागि शिक्षकहरु संवाद र वार्तामा आउनुपर्ने उहाँको शर्त छ ।
आज राजाधानीमा आयोजित ‘हिमालय डायलग’लाई सम्बोधन गर्दै उहाँले शिक्षकहरुको जायज मागमा सरकार आफैं सचेत रहेको र सडकमा सुतिरहनु नपर्ने बताउनुभयो । ‘अहिले शिक्षक आन्दोलन चल्या छ, किन चलाउनुभएको हो, मलाई थाहा छैन’, ओलीले भन्नुभयो, ‘म प्रधानमन्त्री छु, भनिराख्या छु, जायज माग लिएर आउँदाखेरी आन्दोलन गरिरहनु पर्दैन, हामी समाधान र सम्बोधन गछौँ ।’
नेकपा (एमाले)का अध्यक्ष समेत रहनुभएका ओलीले आन्दोलनभन्दा पनि वार्ताको मार्ग रोज्न शिक्षकहरुलाई आग्रह पनि गर्नुभयो । ‘सडकमा गएर सुत्नु पर्दैन, आउनुस् कुरा गरेर समाधान गरौँ, किन दुख पाउनुभएको हो कुन्नी, तपाईंहरुको मागलाई सम्बोधन गछौँ’, उहाँले थप्नुभयो ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित देशभरका शिक्षकहरु पाँच दिनदेखि सडक आन्दोलनमा छन् । हिजो सिटी फुकेर जुलुस निकालेका उनीहरुले आज कालो मास्क लगाएर प्रतिकात्मक दबाब दिएका थिए । नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल समेत घोषणा गरेसँगै थप शिक्षकहरु राजधानी आउने क्रम जारी छ ।
टिप्पणीहरू