महिला संघ अध्यक्षविरुद्ध सामूहिक राजीनामाको तयारी

महिला संघ अध्यक्षविरुद्ध सामूहिक राजीनामाको तयारी

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघमा लफडा चर्केको छ । संघकी अध्यक्ष उषा मिश्र राउतले मनपरी गरेको भन्दै डेढ दर्जनबढी केन्द्रीय सदस्यले पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष राउतको मनपरी अन्त्य गर्न विधिसम्मत अधिवेशनका लागि वातावरण मिलाइदिन आग्रह गरेका हुन् । 

अन्यथा, सामूहिक राजीनामा बुझाउन बाध्य हुने चेतावनी दिइएको छ । अध्यक्ष राउतले संघको विधानविपरीत केन्द्रीय समिति बैठकको निर्णय बेगर अलोकतान्त्रिक ढंगबाट ११ जिल्लाका अध्यक्षलाई हटाएको आरोप छ । दोलखामा अध्यक्ष कृष्णकुमारी खड्काको स्थानमा अर्कैलाई संयोजक तोकेर जिम्मेवारी दिइएको छ भने सर्लाहीमा अध्यक्ष सुशीला कार्की हुँदाहुँदै रमा भट्टराई यसोदामार्फत् नौ सय क्रियाशील सदस्यको नवीकरणमा वेबास्ता गर्दै नयाँ एकलौटी र मनोमानी ढंगबाट बाँडेको सदस्यबाट अधिवेशन गर्ने प्रपञ्च गरिएको बताइन्छ । 

‘एकलौटी ढंगबाट नाटकीय अधिवेशन गर्ने उद्देश्य वर्तमान अध्यक्षले राख्नुभएको हो भने उक्त निर्णय हामी मान्न तयार छैनौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘आदरणीय सभापतिज्यू यदि पार्टीले हाम्रो माग अविलम्ब पूरा नगर्ने हो भने हामी सामूहिक राजीनामा बुझाउन बाध्य हुनेसमेत अनुरोध गर्दछौं ।’

ज्ञापनपत्र केन्द्रीय सदस्यहरु चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सिता घिमिरे, तारा थपलिया, सुष्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ्ग, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सनिशा भेटवाल र पार्वती आचार्यले बुझाएका हुन् ।

टिप्पणीहरू