तीनकुनेमा झैँ गर्नखोजे सुरक्षाकर्मी चुप नबस्ने रणनीति

तीनकुनेमा झैँ गर्नखोजे सुरक्षाकर्मी चुप नबस्ने रणनीति

तीनकुने हत्याकाण्डपछि सुरक्षा निकायको आलोचना भइरहँदा आज राप्रपाको प्रदर्शनमा तीन वटै सुरक्षा संगठनले थप सतर्कता अपनाएको छ । राजावादीहरुले चैत १५ गते मच्चाएको वितण्डापछि झस्किएका उनीहरुले उपत्यकाको सुरक्षा रणनीति परिवर्तन गरेको बताइन्छ ।

पछिल्लो समय राजधानीमामा दिनहुँजसो प्रदर्शन, विरोधसभा र जुलुस हुन थालेपछि हिजो प्रहरी हेडक्वार्टरमा जुटेका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाबीच केही ‘सिरियस’ कुरा भएको बुझिएको छ । बैठकमा तीन वटै संगठनकै प्रमुखले ‘तुलनात्मक रुपमा राजावादीहरु अराजक नै हुने गरेको’ निष्कर्ष निकालेका हुन् । 

बैठकमा भएको छलफलबारे उच्च स्रोत भन्छ, ‘एकजनाले राजाको पालामा आफूले भोगेको व्यथा नै सुनाउनुभयो । पहिले वा अहिले, जहिले पनि राजावादीहरु उपद्रोमा रमाउने पात्र हुन् भन्ने उहाँको आशय थियो ।’ 

तीनकुने घटनामा प्रहरी संयन्त्रको गल्ती कहाँ भयो ? भन्नेबारे पनि बैठकमा गम्भीर छलफल गरिएको बताइन्छ । स्रोतका अनुसार उक्त दिन फिल्डमा सूचना र सुरक्षा ग्याप हुँदा राजावादीहरुले घटनालाई ठूलो बनाउने मौका पाएको निष्कर्ष निकालिएको छ । उक्त गल्ती नदोहोर्याउन सूचना समन्वयमा जासुसी संयन्त्र सक्रिय हुने र सुरक्षा परिचालनमा दुवै प्रहरी संगठन सक्रिय हुने निर्णय भएको छ । 

स्रोत अघि भन्छ, ‘तीनकुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तुलनामा सादा पोशाकका कम थिए, यसकारण सूचना ग्याप भयो । आगामी प्रदर्शनमा तीन वटै संयन्त्रलाई एकीकृत गरेर अघि बढ्ने कुरा भएको छ ।’

त्यस्तै, आकस्मिक अवस्थामा गोली चलाउने अधिकारबारे पनि हिजो छलफल भएको छ । तीनकुने घटनाका नाइके तथा जनकमाण्डर भनिएका दुर्गा प्रसाईंको व्यवहारलाई उदाहरण दिँदै आगामी दिनमा त्यस्तो हुन नदिन आवश्यकताअनुसार विवेकपूर्ण ढंगले गोली चलाउन अधिकार दिनेमा सहमति भएको दावी छ । ‘फिल्डमा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार माथिल्लो कमाण्डसँग अनुमति माग्छ, निर्देशन आउदासम्म घटनाले अर्को मोड लिइसकेको हुन्छ’, स्रोत थप्छ, ‘त्यसकारण सूचना सञ्चार गरेर परिस्थितिअनुसार घुँडामुनि (एक राउण्डमात्र) र सवारी साधनको टायरमा गोली चलाउनसम्म दिने कुरा भएको छ ।’

सुरक्षा रणनीति फेरबदल गर्नुको मुख्य कारण राजावादीको प्रदर्शन नै हो त ? भन्ने प्रश्नमा प्रहरी अधिकारीहरु भन्छन्, ‘धेरै कारणमध्ये यो पनि एउटा हो, आज उपत्यकामा साना ठूला गरी ११ वटा समूहले प्रदर्शन गर्न लागेका छन् । तर हिजोको बैठक आजको लागि मात्रै बसेको होइन, आगामी दिनमा हुने जुनकुनै प्रदर्शनको पूर्वतयारी हो ।’

राजसंस्था पुनस्र्थापनाको पक्षमा राप्रपाले बल्खुमा आयोजना गरेको प्रदर्शन शुरु भएको छ । शिक्षकहरुले माइतीघर र नयाँ बानेश्वर, सहकारी पीडितहरुले शान्तिवाटिका, राष्ट्रिय जनमोर्चाले लगनखेल र विभिन्न समूहले अन्य ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

टिप्पणीहरू