राप्रपा अध्यक्षको आक्रोश : बालुवाटारदेखि प्रहरी हेडक्वार्टरसम्म
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता नसुध्रिए बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेताहरुको घर घेराउ गरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका हुन् । अगाडि भने, ‘तिमीहरु नसुध्रने हो भने घेराउ गरेर भातपानी बन्द गरिदिन सक्छौँ, यो कुरा याद राख !’
अध्यक्ष लिङ्देनले नेपाल प्रहरीका महानिरिक्षक (आइजिपी) दीपक थापामाथि गम्भीर आरोप पनि लगाएका छन् । आइजिपी थापा नेकपा (एमाले) निकट युवा संघको सहअध्यक्ष रहेको उनको आरोप छ । तीनकुने घटना स्मरण गर्दै विस्तृतमा भने, ‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ, ल हेर्नुस् त । हामीले भेटेको खोका, अश्रुग्यासका बोक्राहरु, जहाँ एक्सपायरी डेट २००८ लेखेको थियो, त्यो दुर्गा प्रसाईंले ल्याएर हानेको हो ? अनि त्यो प्रहरी प्रमुख चाहिँ एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपायर हुन्छ ? भन्छ ल !’
आईजिपी थापालाई प्रहरीकै हैसियतमा रहन लिङ्देनको आग्रह छ । ‘प्रहरी, प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भातृ संगठन भएर बस्ने होइन’, उनले अघि भने, ‘तपाईंलाई फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सँधै सत्तामा हुँदैनन्, सँधै उनीहरुको हालीमुहाली हुँदैन । यो कुरा याद राख्नुस्, प्रहरी हुनुहुन्छ, प्रहरी भएर बस्नुस् ।’
लिङ्देनले शिक्षक र सरकार उस्तै रहेको पनि तर्क गरे । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई सम्बोधन गर्दै भने, ‘सरकार नचाहिने कानुनको लागि हतार हतार अध्यादेश ल्याउँछ, अनि चाहिने कानुनको लागि....हेर्नुस् त शिक्षकहरु अहिले.....। फेरि शिक्षकहरु पनि दलीय बन्धन तोड्न मान्दैनन् । त्यही कांग्रेस, एमाले र माओवादीलाई प्रभु भन्छन् । हामीले वरै बसेर दया र दुख व्यक्त गर्नुबाहेक अरु के गर्न सक्छौ र ? शिक्षकले हामीलाई साथ दिनुस् भन्नुस् त, अहिले नै पुग्छ यो जुलुस उनीहरुको आन्दोनलमा एक्यबद्धता जनाउन । तर शिक्षकहरु नै भन्छन, हजुर राजनीति रंग लगाइदिन्छन्, दलिदिन्छन्, आउनु पर्दैन । उता सरकार चाहिँ दलेको दल्यै छ ।’
टिप्पणीहरू