प्रदर्शनपछि राप्रपाको एक लाख बचत
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरको जरिवानाबाट बच्न बल्खु क्षेत्रमा सरसफाई गरेको छ । जुलुससहितको खबरदारी सभा सम्पन्न भएलगत्तै पार्टीका स्वयंसेवकहरुले सडकमा भए गरेका फोहोर सफा गरेका हुन् ।
गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा एयरपोर्ट क्षेत्रमा फोहोर गरेको भन्दै महानगरका मेयर बालेन साहले एक लाख जरिवाना गरेका थिए । राप्रपाका कतिपय नेताहरुले सुरुमा जरिवाना नतिर्ने अडान राखे पनि प्रवक्ता ज्ञानेन्द्र शाही एक लाख बुझाउन महानगरको कार्यालयमै पुगेका थिए ।

सोही पृष्ठभूभिमा आज राप्रपाले आफैं सफा गरेको हो । रोचक के भने, सभा चलिरहँदा उद्घोषक र नेताहरुले बारम्बर महानगरको जरिवाना खाने काम नगर्न कार्यकर्तालाई आग्रह गरिरहेका थिए । ‘अलिअलि गर्मी छ, साथीभाइहरुले पानी पिइराख्नुभएको होला, बोतललाई व्यवस्थित ढंगले राखिदिनुहोला, फेरि एकजना पत्र काट्न तयार भएर बसेको छ, त्यो पत्र आउँछ’, उद्घोषकले भनेका थिए, ‘पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ । किन राप्रपालाई पत्र काट्ने बनाउनुहुन्छ र ?’
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पनि मेयर बालेनलाई धेरै हिरो नबन्न सुझाव दिएका थिए । भनेका थिए, ‘बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न आग्रह गर्छु, हाम्रै साथीहरुले सफा गरेर जानेछन् ।’
टिप्पणीहरू