गृहमन्त्रीका भतिजलाई हङकङको जिम्मा, दुई सातासम्म गोप्य

गृहमन्त्रीका भतिजलाई हङकङको जिम्मा, दुई सातासम्म गोप्य

सरकारले हङकङको महावाणिज्यदूतमा विन्देश्वर लेखकलाई नियुक्त गरेको छ । झण्डै दुई साताअघिको क्याबिनेटले गरेको निर्णय सरकारले हालसम्म सार्वजनिक गरेको छैन । उनी गृहमन्त्री रमेश लेखकका सहोदर भतिजो रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

सुदूरपश्चिमे र गृहमन्त्रीको भतिजोलाई हङकङ नै पठाउनुपर्ने दबाब परराष्ट्रमन्त्री डा. आरजू राणाले दिएपछि प्रधानमन्त्री अप्ठेरोमा परेर लौ भैगो नि त भनेको बुझिएको छ । जबकि उनलाई पाँच महिनाअघि चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासमा डिसिएमको रुपमा खटाइएको थियो । उनी हङकङमा फर्स्टम्यान भएर जाने तर बेइजिङमा सेकेण्ड म्यान नहुने अडान लिएर बसेपछि सरकार सोहीबमोजिम निर्णय गर्न बाध्य भएको हो ।

"उनी हङकङमा फर्स्टम्यान भएर जाने तर बेइजिङमा सेकेण्ड म्यान नहुने अडान लिएर बसेपछि सरकार सोहीबमोजिम निर्णय गर्न बाध्य भएको हो ।"

बेइजिङस्थित दूतावासमा कार्यरत सुरेन्द्र यादवलाई मन्त्रालयमा तानेर आन्तरिक प्रशासनको जिम्मेवारी दिन लागिएको छ । एमालेको कोटामा राजदूत बनेका कृष्णप्रसाद ओलीको मुन्तिर डिसिएम नहुने भन्ने काका भतिजो लेखकको अडानमा परराष्ट्रमन्त्रीले समर्थन जनाएपछि प्रधानमन्त्री बाध्य हुनुभएको स्रोतको दाबी छ ।

हङकङमा कुनैबेला अहिलेका अख्तियार प्रमुख प्रेम राई र यसअघिका महालेखा परीक्षक टंकमणि शर्मालाई पठाउन खोजिएको थियो । राईले जान्न भनेकाले र शर्माको नाममा अरुले पनि अत्तो थापेकाले कार्यविधि संशोधन गरेर माधवकुमार नेपालका भाइ बिनोदलाई महावाणिज्यदूत बनाइएको थियो ।

टिप्पणीहरू