तीनकुने प्रकरण : कांग्रेस निकट नेपालीलाई छानविनको जिम्मा

तीनकुने प्रकरण : कांग्रेस निकट नेपालीलाई छानविनको जिम्मा

राजावादी आन्दोलनका क्रममा दुइजनाको ज्यान जानेगरी भएको तीनकुने घटना छानविन गर्न नागरिक तहमा आयोग गठन गरिएको छ । 

वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजत्वमा पाँच सदस्यीय छानविन आयोग गठन गरिएको हो । आयोगको सदस्यमा सुरक्षा क्षेत्रबाट पूर्वएआइजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा. रामप्रसाद उप्रेती, मानवअधिकारकर्मी डा.ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल छन् । 

उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सरोकारवालाहरुले सरकारसँग उच्चस्तरीय छानविन आयोग गठनको माग गरेका छन् । तर, सरकारले त्यसबारे निर्णय गरेको छैन । 

यता, आयोग गठन गर्ने प्रस्तावलाई राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आज पारित गरेको छ । समितिका प्रवक्ता स्वागत नेपालका अनुसार आयोग गठनको निर्णयमा ३६ वटा संघ संस्था र ३९ प्रबुद्ध व्यक्तिले समर्थन जनाएका छन् । 

आयोगको संयोजक तोकिएका नेपाली सत्तारुढ दल नेपाली कांग्रेस निकट मानिन्छन् । नेपाल विद्यार्थी संघका संस्थापक संयोजकसमेत रहेका उनी ०२६ सालमा केन्द्रीय क्याम्पस त्रिविको स्ववियु सभापति थिए । 

संयोजक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वसभामुख दमननाथ ढुंगानालगायतको गुरु भएको स्वगतको दावी छ ।

टिप्पणीहरू