सैनिक ‘कू’ माग्दै पदयात्रा
मुलुकमा सैनिक शासनको माग गर्दै एक व्यक्तिले पदयात्रा गर्न लागेका छन् ।
आफूलाई स्वतन्त्र नेपाली नागरिक भनाउँदै आएका मकवानपुरका राकेशकुमार शर्माले सैनिक ‘कू’ का लागि माइतीघर मण्डलादेखि रिङरोड हुँदै भद्रकालीस्थित सैनिक मुख्यालय जंगीअड्डाको गेटसम्म पैदल यात्रा गर्न लागेका हुन् । बैशाख १३ गते शनिबार बिहान १० बजेदेखि यात्रा शुरु हुने उनले जानकारी दिए ।
देश जोगाउन सेना अघि सार्नुपर्ने भन्दै शर्मा यसअघि पनि माइतीघरमा पटक–पटक रिले अनशन बसेका थिए । वर्तमान राजनीतिक व्यवस्था र नेताहरुका कारण मुलुक अप्ठेरोमा परेकाले सैनिक ‘कू’ अनिवार्य बनेको उनको धारणा रहँदै आएको छ ।
‘हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ !’ भन्ने नारा तय गरेका शर्मा २०६२–०६३ को परिवार्तनपछि मुलुकले निकास नपाएको दावी गर्छन् । भागबण्डा र प्रतिशोधको राजनीतिले देश बर्बाद भएको ठहरगर्ने उनले पद यात्रामा सहभागी हुन सबैलाई अपिल गरेका छन् ।
टिप्पणीहरू