अब रविका कपाल,दाह्री फुल्छन् : बालकृष्ण न्यौपाने
राजावादी वकिल बालकृष्ण न्यौपानेले अब मुद्दा लड्दा लड्दै रवि लामिछानेको कपाल दाह्री सबै फुल्ने दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछाने उच्च अदालत तुल्सीपुर,बुटवल इजलासको गत शुक्रबारको आदेशपछि पुर्पक्षको निम्ति कारागार चलान भएका छन् ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन अभियोगमा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक लामिछाने जिल्ला अदालत रुपन्देहीको आदेशबाट एक करोड धरौटीमा छुटेका थिए । तर, उक्त अभियोगका अन्यलाई जेल चलान गरिएको र रविलाई धरौटीमा छाडिएकोमा स्वयम् रविले चित्त नबुझाएपछि कारागारमै बसेर मुद्दा छिनोफानो गर्न उच्चले आदेश दिएको हो ।
‘रवि आफै दुई पटक गरी झण्डै पौने वर्ष उपप्रधान तथा गृहमन्त्री बनेकै किन नपक्रेको ? अहिले सरकारले जिबीलाई पक्रेन भनेर रविका मान्छेले कराउनु बेकारको कुरा हो ।’
न्यौपाने भन्छन्, ‘उहाँलाई ठगीमा सात वर्ष कैद छ । संगठित अपराधमा त्यसको आधा हुन्छ । सम्पत्ति शुद्धीकरणमा पनि केही वर्ष काराबास सजाय हुन्छ । ठूला मान्छेले त्यस्तो काम गर्दा थप सजाय हुने भएकाले कूल १२ वर्ष जति जेल जानुपर्ने हुन्छ ।’ एउटा युट्युब च्यानलसँगको कुराकानीमा उनले रवि लामिछाने तत्काल छुट्ने सम्भावनालाई धेरै ‘टाढा’ भनेका छन् ।
उनले रविलाई मुद्दा लागेपछि उल्लेख गरेको सन्दर्भ पनि कोट्याएका छन् । मुद्दा लड्दा लड्दै रविको दाह्री कपाल फुल्ने उनको दाबी छ । जिबी राईलाई सरकारले पक्राउ नगरेको विषयमा पनि न्यौपानेको आफ्नै तर्क छ । न्यौपाने भन्छन् ‘रवि आफै दुई पटक गरी झण्डै पौने वर्ष उपप्रधान तथा गृहमन्त्री बनेकै किन नपक्रेको ? अहिले सरकारले जिबीलाई पक्रेन भनेर रविका मान्छेले कराउनु बेकारको कुरा हो ।’
टिप्पणीहरू