सञ्जालमा जथाभावी 'क्लिक' नगर्न सल्लाह

सञ्जालमा जथाभावी 'क्लिक' नगर्न सल्लाह

बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक सञ्जालका माध्यमबाट रकम ठगी गर्ने गिरोह सक्रिय भैरहँदा प्रहरीले अपरिचित व्यक्तिले पठाएको लिंक नखोल्न सतर्क गराएको छ ।

प्रहरीको साइबर ब्युरोले आज सार्वजनिक सूचना जारी गर्दै फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट लगायतका प्ल्याटफर्ममा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक गरी व्यक्तिगत विवरण शेयर नगर्न आग्रह गरेको हो  । 

सामाजिक सञ्जालबाट ऋण भुक्तानी तथा सेयर मार्केटको प्रलोभन दिएर लिंक पठाउने र त्यसमा क्लिक गर्न लगाएर ठगी गर्ने प्रवृति बढेको ब्युरोका एसपी दिपकराज अवस्थी बताउँछन् । उनका अनुसार ठगहरुले ठगीको लागि नागरिकको मोबाइलमा ‘दी अलर्ट’ मेसेजसमेत पठाउँदै आएका छन् । 

‘तपाईको खातामा असामान्य गतिविधि देखिएकाले तलको लिंकमा क्लिक गरी खाता प्रमाणिकरण गर्नुपर्ने, अन्यथा खाता सस्पेन्ड गरिने चेतावनीसहितको मेसेज (दी अलर्ट, एटी अलर्ट) र सर्ट कोडमार्फत् अनलाईन ठगी बढिरहेकोले त्यस्ता लिंक क्लिक गरी आफ्नो विवरण शेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो डिभाइसमा इन्स्टल नगर्न अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ ।

टिप्पणीहरू