बलात्कारमा जेल गएका वकिल तेस्रो शक्ति
वकिलहरुले नेपाल बारमा नेताहरु त छाने तर उपविजेता कस्ता थिए र कति मत पाए भन्ने धेरैलाई कौतुहलको विषय हुनसक्छ । उपविजेताहरु पूर्वमहान्यायाधिवक्तादेखि बलात्कार आरोपमा कारागार पुगेका व्यक्तिसम्म छन् । सत्तापक्षीय अध्यक्षका उम्मेदवारहरु वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र र महासचिव वरिष्ठ अधिवक्ता केदार कोइराला अत्यधिक मतका साथ विजयी हुँदा बलात्कारमा जेल परेकालेसमेत उल्लेख्य मत प्राप्त गरेकोे विषय भने कानुन व्यवसायीहरुबीच चर्चाको विषय बनेको छ ।
बारमा विद्रोहीहरुको संख्या ठूलो रहेको भन्ने मान्यताको संकेत बनेका छन् अधिवक्ता आशिष पौडेल । उनी सहकर्मी महिला कानुन व्यवसायीलाई बलात्कार गरेको अभियोगमा जेल गएर छुटेको धेरै भएको छैन । पौडेल ५४ मतका साथ नेपाल बार एशोसिएशनको अध्यक्षमा तेस्रो धेरै मत पाउने उम्मेदवार हुन् । चौथोमा ४८ मत प्राप्त गरेर अधिवक्ता राजु कैती र ४५ मतका साथ अधिवक्ता उज्वल घिमिरे पाँचौं बनेका छन् । उनीहरु झण्डै सात वर्षदेखि कानुन व्यवसायमा संलग्न छन् । पौडेलले कानुन व्यवसायको इजाजत पाएको चार वर्ष पुगेको छैन ।
सत्तारुढ नेपाली कांग्रेस,एमाले र राप्रपाको वृहत लोकतान्त्रिक प्रगतिशील तथा व्यवसायिक समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता मिश्रले पाँच हजार ५२ भोट पाएका छन् । विपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रगतिशील तथा व्यावसायिक समूहबाट अध्यक्षको उम्मेदवार बनेका पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले दुई हजार ६२१ भोट ल्याएर उपविजेता बनेका छन् ।
यस पटक तीन जना युवाले अध्यक्षमा दाबी गरेको देखियो । बलात्कारजस्तो जघन्य अपराधमा जेल गएको व्यक्तिलाई तेस्रो शक्तिको रुपमा रुचाएर कालोकोटधारीहरुले न्यायालयभित्रको विकृति र विसंगतिविरुद्ध तीखो प्रहार गरिएको भन्नेहरु पनि देखिएका छन् । सायद ५४ जना भोटरले त्यस्तालाई अध्यक्षको रुपमा अघि सारेर न्यायापालिका र कानुनक्षेत्रप्रति नै व्यङ्य गरेको भन्नेमा धेरैजना सहमत छन् ।
चुनावी क्रममा माओवादी उम्मेदवार श्रेष्ठले सत्तापक्षका उम्मेदवार मिश्रलाई सत्ताको गोटी बनेको आरोप लगाएका थिए । मिश्रलेसमेत श्रेष्ठलाई सरकारी नून खाइसकेको व्यक्तिले बारको नेतृत्व गर्न नसक्ने आरोप लगाए ।
सत्तारुढ दलको रांईंदाईंलाई रोक्न माओवादी र रास्वपा गठबन्धनले उम्मेदवारी दिएर चुनौती प्रस्तुत गरेको देखियो । तर कालोकोट लगाउनेहरु सत्ता, भक्ति र शक्तिको नजिक छन् भन्ने अन्तर्य मिश्रलाई अत्यधिक मत दिएर उनीहरुले नै प्रमाणित गरिदिएका छन् ।
नेपाली काँग्रेस र नेकपा एमाले निकटस्थ चार चार हजारको हाराहारीमा कानुन व्यवसायी रहेको दाबी छ । माओवादीका एक हजार पाँच सय र रास्वपा निकट पाँचसय कानुन व्यवसायीहरु रहेको अनुमान छ । परिणामले मेत सोही अनुमानलाई पुष्टी गरिदिएको छ । मत परिणामले पनि माओवादीका १५ सय र रास्वपाको पाँच सयलाई प्रमाणित गरेको छ ।
कांग्रेस र एमालेका आठ हजार भोटरमध्ये दुई हजार मतदानमा अनुपस्थित देखिए । मतदानमा संलग्न छ हजारमध्ये पाँच हजारले मिश्र प्यानललाई मतदान गरेको विश्लेषण छ । बाँकी एक हजार बाँडिएको उनीहरुको अनुमान छ ।
‘वरिष्ठ अधिवक्ता मिश्रको जीत सुनिश्चित देखेर नै कतिपय मतदाताले व्यङ्यात्मक रुपमा बलात्कारमा जेल गएका र आलाकाँचाहरुलाई समेत मत दिएको देखियो । खासमा यो व्यङ्यलाई कानुनक्षेत्रले गम्भीरतापूर्वक लिन आवश्यक छ,’ एकजना अधिवक्ताको विश्लेषण छ ।
टिप्पणीहरू