भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गराउन भिआइपीमाथि भाँजो

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गराउन भिआइपीमाथि भाँजो

रुपन्देहीको भैरहवास्थित गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका निम्ति आन्दोलन गरिने भएको छ । जिल्लाका सम्पूर्ण संघसंस्था, राजनीतिक दल,आम सर्वसाधारण,जनप्रतिनिधि एकजुट भएर आन्दोलन गर्न लागिएको हो । 

पहिलो चरणमा विभिन्न राजनीतिक दल,स्थानीय,संघ र प्रदेशका जनप्रतिनिधि, सम्बन्धित एअरलाइन्सको प्रमुखसँग छलफल गरिनेछ । त्यसपछि विमानस्थलको मेनगेटअगाडि शान्तिपूर्ण विरोध गर्ने, प्रधानमन्त्री,पर्यटनमन्त्री,अर्थमन्त्री,श्रममन्त्री,स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखलाई अल्टिमेटम दिँदै आन्दोलनबारे ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ । 

दोस्रो चरणमा विमानस्थलको मेनगेटअगाडि नियमित धर्ना तथा विरोध सभा गर्ने, सम्बन्धित मन्त्री र कर्मचारीहरुलाई विमानस्थल प्रवेश निषेध गर्ने, कालो झण्डा देखाउने, आन्तरिक विमानस्थलबाट आगमन–प्रस्थान बन्द गर्नका निम्ति सम्बन्धित पक्षलाई टिकट नकाट्न आह्वान गर्ने जनाइएको छ । पहिलो र दोस्रो चरणको कार्यक्रमबाट माग पुरा नभएमा तेस्रो चरणको आन्दोलन घोषणा गरिने जानकारी दिइएको छ । 

विमानस्थलमा केही समययता अन्तर्राष्ट्रिय उडान बन्द छ । जजिरा एअरलाइन्स, फ्लाई दुबई, थाई एअर एसियाले ‘समर सेड्युल’ तय नगरेकाले उडान बन्द भएको हो ।
 

टिप्पणीहरू