भारतीय मन्त्री आइपुगे नेपाल,अरुण तेस्रो प्रस्थान
भारतीय विद्युत्,आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणमा नेपाल आइपुगेका छन् । श्रीमतीसहित आएका उनले आठ सदस्यीय टोलीको नेतृत्व गरेका छन् । एअर इण्डियाको उडानमा नयाँ टोलीका एक जना सदस्य विदेश मन्त्रालयका सहसचिव सुरांशु शर्मा भने हिजै दिउँसो साढे ४ बजे आइपुगेका थिए ।
ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री दीपक खड्काको निमन्त्रणामा आएका विद्युतमन्त्री खट्टरले आज दिउँसो कोशी कोरिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन,२२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गर्दैछन् । भारत सरकारको सहयोगमा निर्मित ती संरचनाको उद्घाटन संखुवासभाको तुम्लिङटार सबस्टेसनबाट गरिँदै छ ।
त्यसपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्न जाने कार्यक्रम छ । काठमाडौं फर्केर साँझ प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको संयुक्त कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर गर्ने बताइएको छ ।
त्यसैगरी दुई देशबीच अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर,४०० केभी क्षमताका दोधारा–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि समझदारी गरिँदै छ ।
भारतीय मन्त्री खट्टर भोलि बिहान मुक्तिनाथ दर्शनमा जाने,फर्केर आएपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भेटघाट गर्ने कार्यक्रम छ । भोलि नै साँझ पशुपतिनाथको आरतीमा सहभागी भएर नयाँ दिल्ली फर्कने मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू