रविलाई कम्तीमा पाँच वर्ष रोकावट

रविलाई कम्तीमा पाँच वर्ष रोकावट

उच्च अदालत बुटवलको आदेशमार्फत जेल चलान भएका रवि लामिछानेले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मागिएपछि अहिले त्यसकै वरिपरी चर्चा भइरहेको छ । तर, कानुनी क्षेत्रका जानकारहरू भन्छन्, ‘यो खासै चर्चा हुनुपर्ने विषय नै होइन । एउटा नियमित प्रक्रिया हो । जुन हरेक मुद्दाको सुनुवाइका क्रममा हुने गर्छ । तर, यहाँ नाम चलेका व्यक्तिको हकमा निर्णय भएका कारण मात्र समाचारको हेडलाइन बनेको हो ।’

बरु एउटा खतरनाक पक्ष के देखिँदै छ भने रवि लामिछानेले निकै लामो समयसम्म जेलमै बस्नुपर्ने अवस्था आउन सक्छ । कम्तिमा अब उनले २०८४ सालको आम निर्वाचनमा भाग लिन नपाउने पक्काजस्तै छ । रविका हकमा सुनुवाइ प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने जनआस्थाको प्रश्नमाथि जवाफ दिँदै सर्वाेच्च अदालतको प्रशासन स्रोतले भन्यो, ‘अहिले सर्वोच्चले जिल्ला र उच्चले के–के प्रमाणका आधारमा आदेश दिएको हो सोको फोटोकपी माग्ने निर्णय मात्र गरेको हो ।’ थप प्रष्ट पार्दै उनले अगाडि भने, ‘अब उच्च अदालतले जवाफ दिन्छ । अहिले नै सर्वोच्चको एकल इजलासले न रवि लामिछाने थुनामा जानु ठीक हो भन्न सक्छ न त उच्च अदालतको फैसलालाई नै गलत ठहर्‍याउन सक्छ । यस्तो इजलासले गर्न सक्ने भनेको प्रमाण झिकाउने मात्र हो । थप कुरा बोल्न त संयुक्त इजलास नै चाहिन्छ ।’ 

न्याय प्रक्रियामा हुन्छ के भने अहिलेको निर्णय वा इजलासले गर्ने छलफलको विषय बुटवल उच्च अदालतले गरेको निर्णय मात्रै हुँदैन । विस्तारै अन्य जिल्ला तथा उच्च अदालतले गरेका निर्णयसमेत यही मुद्दामा आएर जोडिन्छन् । कास्की, चितवन, काठमाडौँ जिल्लाले गरेका निर्णयसमेत यसमा मिसिन्छ । सहकारी ठगी प्रक्रियामा जोडिएर फरार रहेका धेरै व्यक्तिसहित हाल सजायँ काटिरहेकाहरुको मुद्दा त स्वतः सँगै हेरिने नै भयो । उता, वीरगञ्जमा पनि पर्सा जिल्ला अदालतले सुनुवाई गर्न बाँकी छ । त्यो फैसला र त्यसउपर हुने अन्य पुनरावेदन फैसलाका प्रक्रियासमेत यही मुद्दामा आएर जोडिने हुँदा जति चाँडो गरे पनि यो मुद्दाको अन्तिम टुंगोमा पुग्न वर्षौं लाग्छ । 

अब थप प्रक्रिया अगाडि बढाउने क्रममा यसअघि पुर्जी काटेर बोलाइएका र बयानको क्रममा आई प्रक्रिया अघि बढिसकेका प्रत्येक मुद्दालाई सर्वोच्च अदालतले एकै ठाउँ राखेर हेर्छ । त्यसरी जोडिएर आएका अन्य व्यक्तिका हकमासमेत के–कस्ता निर्णय भएका छन् । ती निर्णयउपर पुनरावेदन परेको छ वा छैन । यदि पुनरावेदन परेको भए त्यसको अवस्था कस्तो छ भन्नेजस्ता कुरालाई खोजी गर्न आदेश दिइन्छ । यो क्रममा रवि लामिछाने फेरि धरौटीमा बाहिर निस्किन पाउँछन् वा पाउँदैनन् भन्ने कुरा त अदालतको विषय भयो । तर, मुद्दाको अन्तिम किनारा लागेर उनले सफाइ पाउन वा उनीमाथि कारबाही के हुने भन्ने तय हुन चाहिँ कम्तीमा ५ वर्ष लाग्ने स्थिति छ । 

पहिलो त यो मुद्दामा जोडिएका धेरै मानिस फरार छन् । र, उनीहरूको म्याद तामेल हुन बाँकी नै छ । म्याद तामेली गर्नुभन्दा अगाडि यस विषयमा प्रत्येक ठाउँका मुद्दा र उजुरीमाथि सुनुवाइ गर्दै फरार अभियुक्तका नाममा राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गर्नेसम्मको प्रक्रिया पूरा गर्नै निकै लामो समय लाग्छ । त्यसपछि मात्र म्याद तामेली हुन सक्छ । दोस्रो, यस्तै प्रकृतिको मुद्दा वीरगञ्जबाट प्रक्रियामा जान बाँकी छ । त्यसमा कति जना पक्राउ पर्छन्, कतिलाई फेरि म्याद तामेली प्रक्रियामा लैजानुपर्ने हुन सक्छ । त्यहाँ नयाँ मुद्दा शुरु भएर म्याद तामेलीसम्म जान फेरि वर्षौं लाग्छ ।

सर्वोच्च अदालतका एक वरिष्ठ अधिकारीका अनुसार फाइल हेर्नुप¥यो, प्रमाण बुझ्नुपर्‍यो, सहकारी लिखतदेखि नेपाल सरकारका साक्षीहरूसमेत बुझ्नुप¥यो । त्यति मात्र नभएर प्रतिवादीका साक्षीहरू बुझ्ने र उनीहरूका बकपत्र अध्ययन गर्ने काम पूरा गर्न पनि समय लाग्छ । यसो हुँदा रवि लामिछानेको मुद्दा किनारा लाग्न निकै बढी समय लाग्ने पक्का छ । जानकारहरूका अनुसार अब दुइटा विषय सँगसँगै अगाडि बढ्छन् । एउटा थुनछेकमाथिको बहस र अर्को मुद्दाको फैसला प्रक्रिया । यी दुवै कुराको अन्तिम निर्णय सर्वोच्चबाट मात्र हुन सक्छ । यदि, रविको पक्षमा जिल्ला तथा उच्च अदालतले फैसला गरे सरकार पुनरावेदन गर्दै सर्वोच्चमा र रवि लामिछानेको विपक्षमा हुने गरी तलबाट भयो भने उनी पनि सर्वाेच्चमै उजुरी लिएर पुग्छन् । त्यसो हुँदा थुनछेक र मुद्दाको फैसला दुईवटै विषय सर्वोच्चमा पुगेर मात्रै अन्तिम हुने हो । 

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारजन्य कसुर हुनाले रवि लामिछाने यसको अन्तिम फैसला नहुञ्जेलसम्म राजनीतिमा जाने बाटो लगभग रोकिएको छ । सांसद पद निलम्बन हुने एउटै मात्रै आधार भनेको भ्रष्टाचार हो । त्यही भ्रष्टाचार र अनियमितताअन्तर्गत पर्ने सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको हुँदा रवि लामिछानेको सांसद पद निलम्बनमा छ । नत्र फौजदारी अभियोग वा ज्यानमारा नै भए पनि चुनाव लड्न केहीले रोक्ने थिएन ।
 

टिप्पणीहरू